खाेज्नुहाेस

बाजुराका महिला राडिपाखा संरक्षणमा

Image

बाजुरा– बाजुराको गौमुल गाउँपालिका–१ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुनिरहेकी छिन । परम्परागत सीपलाई संरक्षण एवम् व्यावसायिक रूपमा आत्मनिर्भर बन्न वर्षौँदेखि राडीपाखी उत्पादनलाई निरन्तरता दिईरहेकी बोहराले राडीपाखी बिक्रीबाट घरखर्च चलाउन सहज हुने मात्र नभई राम्रो आम्दानी हुने अनुभव सुनाईन ।

गौमुलका महिलाहरू व्यावसायिक रूपमा राडीपाखी उत्पादनतर्फ आकर्षित भइरहेका छन् । माडी मात्र होइन, गाउँपालिकाका अधिकांश बस्तीमा महिला, वृद्ध तथा अन्य स्थानीयले पनि भेडापालन गर्दै ऊन उत्पादन गरी राडीपाखी, कम्बल, फेरुवा लगायतका सामग्री बनाउने गरेका छन् । कृषि खेतीबाट मात्रै पर्याप्त आम्दानी नहुँदा यहाँका स्थानीयले मुख्य पेसाका रूपमा भेडापालन र जडीबुटी सङ्कलनलाई अपनाएका छन् ।

attariya hospital
navjiwan hospital

भेडाको ऊनबाट स्थानीय पहिरन, लिउ, फेरुवा, पाखो, कम्बल जस्ता वस्तु उत्पादन गरिन्छ । बोहराका अनुसार गाउँमा उत्पादन हुने बोल्या, कम्बल, पाखी स्थानीय बजारमा दुईदेखि दश हजार रुपैयाँसम्म बिक्री हुन्छन् । ‘भेडाको ऊन र अल्लो भांगोको धागा निकालेर बुनाई गर्दा धेरै मेहनत पर्छ, तर आत्मनिर्भर हुन यो पेशा उपयुक्त छ’ बोहराले भनिन् ।
गाउँपालिकाकी अर्की उद्यमी कला रोकायाले एउटा बोल्या वा कम्बल बनाउन कम्तीमा १० देखि ३५ दिन लाग्ने बताईन । ‘राडीपाखी व्यवसाय झन्झटिलो भए पनि राम्रो आम्दानी दिने स्रोत हो । आफ्नो घरमै भेडापालन र धागा उत्पादन गर्न सके यो पेशा अझ फस्टाउँछ’ उनले भनिन् ।

तर, समयसँगै मानिसको जीवनशैली र रोजाइमा परिवर्तन आएसँगै यस्ता परम्परागत सीप र सामग्री लोप हुँदै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । विदेशी कपडाको बढ्दो प्रयोग र चरन क्षेत्रको अभावले भेडापालन र राडीपाखी व्यवसाय सङ्कटमा परेको छ । एक दशकअघि जिल्लाका ग्रामीण क्षेत्रमा व्यापक रूपमा भेडापालन हुने गथ्र्यो । भेडाको मासु, दूध र घ्यूबाट पनि किसानले राम्रो आम्दानी गर्ने गर्थे ।

भेडाको दूध गाई–भैँसीको भन्दा पोषिलो मानिन्छ र घ्यू औषधीय रूपमा प्रयोग हुने भएकाले यसको महत्व ग्रामीण क्षेत्रमा अझै उच्च छ । तर, चरन क्षेत्र घट्दै जाँदा धेरै भेडापालक किसान भेडीगोठ खाली गर्न बाध्य बनेका छन्, जसको प्रत्यक्ष असर परम्परागत राडीपाखा पेसामा परेको छ ।