धनगढी – ‘आफ्नो देशको उत्पादन, आफ्नो सान – कृषि उन्नतिमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम महाधिवेशन कैलालीको धनगढीमा सुरु भएको छ । बुधवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावललेको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएको हो ।

कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमको कृषि सम्भावनालाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हिउँले ढाकिएका हिमालदेखि तराईका उर्वर खेतसम्मका वरदानलाई संगठन, नीति र प्रविधिको संयोजनमार्फत परिणाममा बदल्नुपर्छ । किसानको श्रमको उचित मूल्य बिना राष्ट्रको समृद्धि सम्भव छैन ।’

महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले किसानका हक अधिकारको संरक्षण, बीउ–मल आपूर्ति सुधार, सहकारीमार्फत बजार व्यवस्थापन र कृषि यान्त्रीकरणलाई महासंघको प्रमुख एजेन्डा बनाइने बताए ।
अधिवेशनले सुदूरपश्चिमलाई आत्मनिर्भर कृषि प्रदेश बनाउन नीतिगत, सङ्गठनात्मक र व्यवहारिक अभियानलाई सुदृढ गर्ने सङ्कल्प लिएको छ । यसैबिच, बन्द सत्रले सर्वसम्मत नयाँ प्रदेश समिति चयन गर्ने महासंघका अध्यक्ष हरेन्द्र सिंह विष्टले बताए । बन्द सत्रमा सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

















