खाेज्नुहाेस

परम्परागत पञ्चेबाजा लोप हुने अवस्थामा, संरक्षणमा स्थानीय तह सक्रिय

Image

बाजुरा– सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा प्रचलित मौलिख पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रुपमा प्रचलित पञ्चेबाजा पछिल्लो समय पश्चिमा संस्कृति भित्रिएसँगै लोप हुने अवस्थामा पुगेको हो । विवाह, ब्रतबन्ध लगायतका विभिन्न शुभकार्यहरुमा प्रयोग हुने पञ्चेबाजा पछिल्लो समय डिजे, ब्याण्ड लगायतका आधुनिक बाजाहरुको बढ्दो प्रयोगले लोप हुने अवस्थामा पुगेको जानकारहरु बताउँछन ।

पश्चिमी संस्कृतिप्रतिको बढ्दो आकर्षणले परम्परागत पञ्चेबाजा विस्थापित गरिरहेको बाजुराको बडिमालिका गाउँपालिका– ५ का पञ्चेबाजा वादक जङ्ग नेपालीले बताए । करिब ३० वर्षदेखि पञ्चेबाजा बजाउँदै आएका जिल्लाको त्रिवेणी नगरपालिका–९ का धर्म नेपालीले पञ्चेबाजा बजाएर घरखर्च चलाउन समेत गाह्रो हुने अवस्था आएपछि यसप्रतिको बादकहरुको मोह घट्दै गएको बताए । उनले पहिले पञ्चेबाजा बजाएरै घर खर्च चल्ने भएपनि अहिले त्यस्तो अवस्था नहरेको बताए ।

attariya hospital

संरक्षणमा स्थानिय तह अग्रसर

navjiwan hospital

युवा पुस्ताले यस पेसाप्रति चासो नदेखाउनु र यसैबाट जीविका चलाउन सकिने अवस्था नरहेकाले पञ्चेबाजा पछिल्लो समय सङ्कटमा पर्न थालेपछि स्थानीय सरकारले चासो देखाउन थालेका छन । संरक्षण अभावमा लोप हुन लागेको पञ्चेबाजालाई संरक्षण गर्न पछिल्लो समय बाजुराका २ वटा स्थानिय तहहरु सक्रिय रुपमा लागेका हुन ।

जिल्लाका त्रिवेणी नगरपालिका र जगन्नाथ गाउँपालिकाले पछिल्लो समय पञ्चेबाजा संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गर्न थालेका छन । दुवै पालिकाले परम्परागत रूपमा बाजा बजाउने पेसा अँगाल्दै आएका दमाईं, नेपाली, लगायत जातका स्थानीयलाई आवश्यक कार्यक्रम सहित संस्कृति झल्किने पहिरन वितरण गरेका छन् । जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीका अनुसार पञ्चेबाजा ऐतिहासिक संस्कृति भएकाले यसको प्रवद्र्धनका लागि पालिकाले योजना निर्माण गरी कार्यान्वयन गरेको हो । जगन्नाथमा मात्र १ सय भन्दा बढी स्थानीय बाजा बजाउने दमाई लगायत जातिलाई संस्कृति झल्किने पहिरन वितरण गरिसकिएको उनले बताए । त्यस्तै त्रिवेणी नगरपालिकाले पनि पञ्चेबाजा संरक्षणका लागि पहिरन वितरण सँगै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको नगर प्रमुख कर्णबहादुर थापाले बताए ।

पालिकाले कार्यक्रम सञ्चालन गरेका गाउँमा सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने पञ्चेबाजा जोगाउन अहिले युवाहरू नै अगाडि आएका छन् । करिब डेढ दशकअघि बाजुराका गाउँ–गाउँमा विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा पञ्चेबाजा अनिवार्यजस्तै थियो । पछिल्लो समय भने फाटफुट बाहेक आधुनिक बाजा बजाउने चलन बढेपछि पञ्चेबाजा ओझेलमा परेको छ ।