अछाम– अछामका एक किसानको खेतमा साउनमै धान पाकेको छ । जिल्लाको साफेबगरस्थित बुढीगंगा नदी किनारमा कृषक डम्बरदेवी बुढाको खेतमा साउनमै बर्खे धान पाकेको हो ।
आकासे पानीको भरमा रोपाइँ हुने केही ठाउँमा भने धान रोप्न अझै बाँकी रहँदा अछामको साँफेबगरकी कृषक डम्बरदेवी बुढाको खेतमा भने साउनमै धान पाकेको छ । वैशाख अन्तिम सातामा रोपिएको धान साउन मध्यतिरै पाकेको छ । ढिलो वर्षा हुँदा कतिपय किसानले भने बिउ जोगाउन नसकेर धान रोप्ने खेतमा गहत, मास जस्ता गेडागुडी छरेका छन् ।


चाँडै धान पाकेको खेतमा पुनः धान रोप्ने सोच बनाएको कृषक बुढाले बताईन । उनले भनीन् ‘मैले वैशाख अन्तिम साता चार रोपनीमा धान रोपेको हुँ, यति चाँडै पाक्दा खुसी लागेको छ । धान पाक्ने समयभन्दा अगावै धान कटाइ र चुटाइ गरिरहेकी छु ।’
सिँचाइको सुविधा भएका ठाउँमा समयमै रोपाइँ भए पनि केही ठाउँमा भने अझै रोपाइँ हुन बाँकी रहेको छ । अछाममा रोपाइँ हुने जग्गा १५ हजार ७६१ हेक्टर क्षेत्रफल रहेको कृषि ज्ञान केन्द्र अछामका सूचना अधिकरी भूमिराज उपाध्यायले बताए । उनका अनुसार रोपाइँ हुने करिब दुई प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी छ ।
धान रोपाइँ हुने कुल क्षेत्रफलको करिब ३० प्रतिशत मात्रै वर्षभरि सिञ्चित हुन्छ भने बाँकी ७० प्रतिशत आकासे पानीको भरमा सिँचाइ हुने गरेको छ । ‘उन्नत जातको धान भएका कारण छिटो पाकेको हो’ उपाध्यायले भने ‘पछिल्लो समय किसानको आकर्षण उन्नत जातका बिउमा बढेको छ ।’

















