बझाङ – म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेर विश्व च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई तलकोट गाउँपालिकाले पुरस्कार दिने घोषणा गरेको छ । उनलाई एक लाख नगदसहित सम्मान गर्ने पालिकाले जनाएको छ । ‘बझाङको निम्न वर्गीय परिवारमा जन्मेका रवीन्द्रले बझाङमात्रै नभएर नेपालको नाम विश्वसामु चम्काएका छन्,’ तलकोट गाउँपालिकाका अध्यक्ष कलकबहादुर रोकायाले भने, ‘उनको लगन र मिहिनेतको कदर गर्न सम्मान गर्ने निर्णय गरेका छौं । उनलाई आफ्नो खेलमा थप सफलता प्राप्त गर्न हौसला मिलोस् भनेर पालिकाले सम्मान गर्न लागेको हो ।’

शनिबार भारतको नोएडामा भएको एमएफएनको बेन्टमवेटमा रवीन्द्रले भारतीय विश्व च्याम्पियन चुनरेङ कोरेनलाई हराएर उपाधि खोसेका थिए । रविन्द्र मिक्स मार्सल आर्टस च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।

आक्रामक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आटर्समा ढाँटले तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए । शक्तिशाली रेस्लिङ र आक्रामक पावरका लागि चर्चित ‘दी इन्डियन राइनो’ उपनाम पाएका कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि नेपाली फाइटर रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ आक्रमण गरेका थिए ।
– यसअघि समाचारमा एक लाख हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।


















