खाेज्नुहाेस

बडीमालिकाको पुजाका लागि बाजुराबाट सरकारी टोली प्रस्थान

Image

बाजुरा– बडिमालिकाको पुजाका लागि बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ । सु–प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलका रुपमा चिनिने बडिमालिकाको पूजाका लागि औपचारिक रूपमा बाजुराबाट सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

जनैपुर्णिमाको अवसरमा साउन शुक्ल चतुर्दशी अर्थात् साउन २३ गते लाग्ने विशेष पूजा एवम् मेलामा सहभागी हुन सहायक प्रमुख जिल्ला अधिकारी शीतल रावल नेतृत्वको सरकारी टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । मंगलबार बिहान सदरमुकाम मार्तडी स्थित बडिमालिका मन्दिर परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टुकडीको सलामी सहित सरकारी टोलीको बिदाइ गरिएको हो ।

attariya hospital
navjiwan hospital

सो अवसरमा जिल्ला स्थित बडिमालिका नगरपालिका लगायत स्थानीय पालिकाहरूका आ–आफ्नै पूजा टोली समेत त्यसतर्फ प्रस्थान गरेका छन् । यस अघि पूजाको डोली बोकेर कालिकोट, जुम्ला, डोटी र धनगढीबाट सरकारी टोली बाजुरास्थित बडिमालिका मन्दिर प्रस्थान गरिसकेको छ । परापूर्व कालदेखि बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार उक्त जिल्लाको सरकारी टोली डोलीसहित बडिमालिका मन्दिरतर्फ लागेको हो ।

हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ । बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री बडिमालिका पुग्ने गर्छन् । बडिमालिकाको पूजाका लागि तत्कालीन सिञ्जा राज्य जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाउने प्रचलन हालसम्म पनि कायमै छ ।