खाेज्नुहाेस

क्यानका अध्यक्ष चन्द भन्छन् ‘फाप्लामा पहिला क्रिकेट स्टेडियम बनाइदिनुस्’

Image

अत्तरिया – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले फाप्लामा क्रिकेटको स्टेडियमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि निर्माण गरिदिन आग्रह गरेका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले समग्र परियोजना अन्तरगत निर्माणको काम गर्दा ढिलाइ हुने भन्दै क्रिकेट स्टेडियमलाई पहिले निर्माण गरिदिन आग्रह गरेका हुन ।

‘फाप्ला सधैँ चर्चामा हुन्छ । नामै ड्रिम फाप्ला छ । त्यो सपनामा मात्रै रहने सम्भावना कति छ ? सपना त पुरा नहुन पनि सक्छ । तर, सपना देखेपछि पुरा गर्नुपर्छ । अहिले एकदम सबैको चासो र चिन्ताको विषय यत्रो वर्ष भइसक्यो । अहिले पनि यत्रो ठुलो प्रोजेक्ट फाप्लाको कष्ट र नरेन्द्र मोदी स्टेडियमको कष्ट एउटै राख्दा खेरी त्यो कसरी सफल होला ? हुन्छ कि हुँदैन ?’ उनले प्रश्न गरे ‘मेरो अनुरोध के हो भने समग्रलाई एउटै ब्लकमा राख्नुभन्दा क्रिकेटको मात्रै कसरी हुन्छ सबैभन्दा पहिले अगाडि बढाएर सम्पन्न गरिदिनुस् ।’

attariya hospital

उनले क्रिकेटको क्रेज भएका बेला मैदान बनेमा मात्रै परियोजना सफल हुने दाबी गरे । ‘अहिले क्रिकेट हाई लाइट छ । अहिले क्रिकेटको आवश्यकता छ । अहिले यो फाप्लाको मैदानमा कुनै विदेशी टिम ल्याउँदै गर्दा हाम्रो सुदूरपश्चिमको मैदानमा हाम्रा यस क्षेत्रकै खेलाडी दीपेन्द्र ऐरी, लोकेश बमले खेल्नुप-यो, नयाँ उदयमान युवराज खत्री लगायतले खेल्ने मौका पाउनु प¥यो’ उनले भने ‘यी खेलाडी रिटायर भएपछि बुढो भएपछि खेल्दा क्रिकेटको क्रेज डाउन हुन्छ । किनभने यो समय हो । एक समयमा केन्याले वर्ड कप कति खेल्यो अहिले केन्याको अवस्था के छ । अहिले उत्कृष्ट बेलामा मैदान बनाउनु प-यो ।’

उनले फप्लामा क्रिकेट मैदान बनाउँदै गर्दा त्यसमा क्यानलाई पनि सहभागी गराउन आग्रह गरे । उनले भने ‘अहिले न जिल्ला, न प्रदेश क्रिकेट संघलाई फाप्लाको क्रिकेट मैदानबारे थाहा छ । क्यानलाई थाहा हुने कुरै भएन । मेरो त घर यहाँ भएर थाहा भएको हो ।’

navjiwan hospital

उनले अहिले क्रिकेटका पूर्वाधार नहुँदा धेरै खेलाडी भारतमा जानुपर्ने बाध्यता भएकाले यसलाई रोक्न छिटो मैदान बन्नुपर्ने बताए । उनले भने ‘अहिले पनि हजारौँ बच्चाहरू क्रिकेट खेल्न बाहिर गइरहेका छन् । भारतमा दैनिक १५ सय तिरेर क्रिकेट सिकिरहेका छन् ।’

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्राम निर्माण गर्ने भन्दै ५० हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम सँगै फुटबल मैदान, पौडी पोखरी, ट्रयाक, अभ्यास फिल्ड, स्पोर्टस् म्युजियम, टेक्वान्डो एकेडेमी, मल्टिस्पोट्स हल, स्टाफ आवास, खेलाडी आवास लगायतको संरचना निर्माण गर्ने गरी डीपीआर गरिएको छ ।

सरकारले २०७९ जेठ २० गते धनगढीकै सुवास शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त गरेर ५ वर्ष भित्र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम निर्माण गर्न लक्ष्य राखेको थियो । तर, ३ वर्ष बितिसक्दा पनि हाल सम्म डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया मात्रै सम्पन्न भएको छ ।

हाल क्रिकेट सहितका पूर्वाधार निर्माणका लागि २६ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । जसका लागि निर्माण स्थलमा २६ हजार रुख काट्नको लागि प्रक्रिया अगाडि बढाएको पूर्वाधार विकास समितिले जनाएको छ । फाप्लामा क्रिकेट मैदान मात्रै निर्माण गर्न भने १४ अर्ब बजेट आवश्यक पर्ने बताइएको छ ।

‘ड्रिम फाप्ला’ अभियान सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेश सरकारले यसलाई प्रदेश गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७६/७७ मा ६० लाख रुपैयाँ खर्च गरेर घेर बार गरेको थियो भने २०७८ माघ २४ गते प्रदेश सरकारले क्रिकेट मैदानका लागि ३८ विघा जमिनको भोगाधिकार पनि लिएको थियो । तर, संघिय सरकारले २०७९ वैशाख २६ गते अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेपछि प्रदेश सरकारले पछि हटेको थियो ।