खाेज्नुहाेस

बाजुराको बडीमालिका मन्दिर परिसर सरसफाई

Image

बाजुरा– बाजुरामा रहेको बडीमालिका मन्दिर परिसर सरसफाई गरिएको छ । जिल्ला सदरमुकाम मार्तडी स्थित सो मन्दिर परिसर शनिवार बडीमालिका नगरपालिका–८ ले सरसफाई गरेको हो ।

नजिकिदै गरेको बडीमालिका मन्दिरमा लाग्ने मेलाका अवसरमा मन्दिर परिसर सरसफाई गरिएको वडा कार्यालयले जनाएको छ । धार्मिक आस्था र पर्यटकीय क्षेत्रको धरोहर भू–स्वर्ग बडीमालिकामा लाग्ने मेलाको अवसरमा चहलपहल बढेको भन्दै सरसफाई गरिएको सामाजिक अभियान्ता बिरेन्द्र रावलले बताए । मन्दिरलाई सफा र स्वच्छ बनाउन वरिपरिको फोहोर संकलन गरी व्यवस्थापन गरिएको उनले बताए ।

attariya hospital
navjiwan hospital

मन्दिर सरसफाई कार्यक्रममा वडासदस्य करे रावल, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी लगायत स्थानीयको सहभागीता रहेको थियो । धार्मिक आस्थाका धरोहर बडीमालिका र बुढीनन्दामा यहीँ साउन २३ गते अर्थात शुक्ल चदुर्दशीका दिन भव्य मेला लाग्दैछ ।

बडीमालिका जानुअघि सदरमुकाम मार्तडी स्थित बडीमालिका मन्दिर लागयतका विभिन्न धार्मिक शक्तिपीठहरुको दर्शन गर्ने प्रचलन समेत रहेको स्थानीयहरु बताउँछन् । बडीमालिका मातामा पूजाआजाका लागि बाजुराबाट पूजा सामग्रीसहित सरकारी टोली जाने गरेको छ । बडीमालिका मन्दिरको दर्शन गरी बडीमालिका र बुढीनन्दाका लागि एकसाथ बाजागाजा सहित सरकारी टोलीलाई बिदाई गरिदैँ आएको छ ।

त्यस्तै, बडीमालिका माताको पूजाका लागि छिमेकी जिल्ला डोटी, जुम्ला र कालिकोटबाट यसअघि नै सरकारी टोली प्रस्थान गरी सकेको छ । त्यसैगरी, बडीमालिका तीर्थयात्रा नजिकिएसँगै सदरमुकाम मार्तडीमा समेत चहलपहल बढेको छ । बडीमालिकाको दर्शनका लागि देशका विभिन्न ठाउँबाट भक्तजनहरु भित्रिने क्रम समेत बढ्दै गएको छ ।

देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालिका प्राकृतिक सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक आस्था र विश्वासका हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालका ४ धार्मिक धाममध्ये बडीमालिका एक धामका रूपमा परिचित छ ।