अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ मा असार २८ गते छाउगोठमा बसेकी कमला दमाईको मृत्यु भएको घटना अहिले चर्चामा छ । अझै पनि छाउपडी प्रथाकै कारण महिलाहरूले ज्यानै गुमाउनु परेको भन्दै अहिले छाउगोठ हटाउने देखि सचेतनाका कार्यक्रम आयोजना गरिँदै छन् । कमलाको छाउगोठमा मृत्यु भएपछि तराइको सुगम क्षेत्रमा रहेको पालिकामै छाउपडी प्रथा कायम रहेको भन्दै कृष्णपुर नगरपालिकाको आलोचना भइरहेका बेला यस क्षेत्रका किशोर, किशोरीहरूले भने यस्तो प्रथा रोक्न आवाज उठाउन थालेका छन् ।
बिहीबार ‘महिनावारी स्वच्छता : हाम्रो प्रतिबद्धता’ शीर्षकमा कृष्णपुर नगरपालिका– ७ कलुवापुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा भाग लिएका किशोर, किशोरीहरूले महिनावारी प्राकृतिक नियम भएकाले यसमा विभेद गर्न नहुनेमा जोड दिए । वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी अनिता रानाले महिनावारी जैविक प्रक्रिया भए पनि अहिले पनि समाजमा महिनावारी डर, लाज, संकोच र अज्ञानताले ढाकिएको बताइन् ।

उनले नेपालमा १७ लाख महिला प्रजनन उमेर समूहमा परे पनि अझै पनि ५७ प्रतिशत महिलाहरु महिनावारीको अस्वच्छताका कारण विभिन्न सङ्क्रमणमा पर्ने गरेको बताइन् । उनले ग्रामीण क्षेत्रमा अहिले पनि ५६ प्रतिशत विद्यार्थी महिनावारीकै कारण विद्यालयमा अनुपस्थित हुने गरेको बताउँदै सुदूरपश्चिममा छाउपडी प्रथाकै कारण धेरैले ज्यानै गुमाउनु परेको बताइन् । उनले महिनावारी स्वच्छताका लागि जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । ‘कुनै पनि महिला महिनावारी हुनु पाप होइन, प्राकृतिक प्रक्रिया हो भनेर गाउँघरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ’ उनले भनिन् ‘महिनावारीमा अस्वच्छता अपनाउँदा महिलाहरूले शारीरिक मानसिक रुपमा धेरै समस्या भोग्नुपर्छ । त्यसका लागि महिला तथा किशोरीले विशेष ध्यान दिन आवश्यक छ ।’
प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका भक्तराज ओझाले २१ औँ सताब्दिमा पनि हाम्रो समाजमा छाउपडी प्रथाको नाममा विकृति फैलिएको बताए । ‘२१ औँ सताब्दिमा मानिसहरू चन्द्रमामा पुगेका छन् । हामी भने छाउपडी प्रथाका नाममा विकृति फैलाइरहेका छौ’ उनले भने ‘हाम्रो ग्रन्थमा पनि लेखिएको छ । या नारणी शक्ति, जीवनस्य जननी । तर यिनै नारीको हामीले सम्मान गर्न सकेका छैनौ । यसका लागि विभिन्न प्रथाका नाममा महिलामाथि हुने विभेद अन्त्य पनि गर्नुपर्छ ।’ उनले कृष्णपुर नगरपालिकामै छाउपडी गोठमा बसेकी महिलाको मृत्यु भएको बताउँदै यस्तो प्रथा हटाउन सबै लाग्नुपर्ने बताए । ‘नारी देवता हुन तर महिनावारी हुँदा छि छि थु थु गरेर अलग कोठामा राखिन्छ’ उनले प्रश्न गरे ‘के यही हो हाम्रो समाज र पुर्खाले दिएको शिक्षा ?’

प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी हेमा महराले महिनावारी स्वच्छता सम्बन्धी जानकारीको अभाव, सफा सेनेटरी प्याडको अभाव, सुरक्षित व्यवस्थापनको कमीले गर्दा विद्यालय जानै नसकिरहेको बताइन् । महिनावारी स्वच्छता विकल्प नभएर बाध्यता भएको बताउँदै उनले महिनावारी भएको अवस्थामा सावधानी नअपनाउँदा विभिन्न किसिमका शारीरिक समस्या भोग्नुपर्ने बताइन् । ‘अहिले पनि महिनावारी भएको बेला घरभन्दा टाढा राख्ने, घरमा राखे देवता रिसाउने सोच छ’ उनले भनिन् ‘महिनावारी भएको बेला झनै स्वच्छता अपनाउनुपर्नेमा यस्तो गरिदा महिलाको स्वास्थ्यमा पनि गम्भीर असर पर्छ ।’
वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुरले सञ्चालन गरेको बिफोरजी (बेसिक फर गर्ल) परियोजना अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा ९ जना किशोर किशोरीहरूले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका वडाध्यक्ष घुम्मन रानाले यस्ता कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थी सचेत हुने बताए । उनले छाउपडी प्रथाका विरुद्ध विद्यार्थीहरूले विद्यालयस्तर देखि नै लाग्नुपर्ने बताए । उनले छाउपडी प्रथा कुरीति भएकाले त्यसलाई हटाउन जरुरी रहेको बताए । ‘यो एक कुरीति हो, यसलाई अन्धविश्वास मानेर हामी सबै फसिरहेका छौ’ उनले भने ‘यसलाई हटाउन आवश्यक छ ।’
परियोजना संयोजक रामेश्वर जैरुले किशोरीहरूको सुरक्षा, सम्मान र स्वास्थ्य प्रवर्धनका लागि महिनावारी स्वच्छता र महिनावारीलाई मर्यादित बनाउने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको बताए । उनले विद्यालय स्तरदेखि नै बालबालिकाहरूलाई महिनावारीको स्वच्छताका बारेमा जानकारी दिन सके महिनावारीलाई अन्धविश्वासका रूपमा मान्ने परिपाटी अन्त्य हुने समेत बताए ।
उनले महिनावारी स्वच्छता सम्बन्धी सचेत गराउन बाल क्लबका सदस्यहरूलाई सहभागी गराएर सांस्कृतिक कार्यक्रम र वृक्षारोपणका साथै चित्रकला, हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको बताए । विद्यालयमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा ग्रिन हाउस प्रथम, रेड हाउस द्धितिय, ब्लु हाउस तृतीय हुँदा, ह्वाईट हाउसले सान्त्वना स्थान हासिल गरेको थियो । प्रतियोगिताहरूमा प्रथम, द्धितिय र तृतीय भएकाहरूलाई पुरस्कार स्वरूप झोला, कापी, डटपेन दिइएको थियो ।
















