कञ्चनपुर – वैशाख १७ गते साइकल सहित मृत फेला परेका लालझाडी गाउँपालिका–४ सिलकट्टीजाई शिविरका ३५ वर्षीय राम रेसर रानाको हत्या भएको खुलेको छ । घर नजिकै सडक छेउमा मृत फेला परेका रानाको उनकी श्रीमतीका प्रेमीले हत्या गरेको खुलेको हो ।
शव फेला परेपछि राना वैशाख १६ गते साँझ खाना खाएर घरबाट गएर नफर्किएको भनिएको थियो । तर, प्रहरी अनुसन्धानले भने उनको वैशाख १६ गते साँझ हत्या गरेको खुलेको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार बेलौरी नगरपालिका – ४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती माया रानाबिच अनैतिक सम्बन्धले उक्त घटना भएको थियो ।
वैशाख १६ गते मायालाई मृतक रानाले पुन्नासँग आफ्नै घरमा देखेपछि झगडा भएको थियो । श्रीमान्–श्रीमतीबिच हातपात हुन थालेपछि पुन्ना रानाले बाँसको चिर्पटले राम रेसर माथि प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएपछि शवलाई सडक छेउमा फालिएको थियो । शव फाल्न पुन्ना रानालाई माया राना र स्थानीय मानमती चौधरी रानाले सहयोग गरेका थिए ।
तिनै जनाले आरोप स्वीकार गरेपछि असार २६ गते जिल्ला अदालत कञ्चनपुरले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाए आदेश दिएको थियो । मृतककी श्रीमती माया चौधरी र मानमती चौधरीलाई एक–एक लाख धरौटीमा छोड्न आदेश दिइएको भए पनि उनीहरूले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । मृतक राना भारतमा मजदुरी गर्दै आएका थिए ।
















