अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ६ मा रहेको शैलेश्वरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) गठनका लागि १० जनाले दाबी गरेका छन् । नयाँ विव्यस चयनका लागि आइतबार भएको छलफलमा १० जनाले दाबी गरेका हुन ।

यसअघि १६ जनाले आकाङ्क्षा देखाएपनि शनिवार ६ जनाले आफ्नो नाम फिर्ता लिएका थिए । विद्यालयमा नयाँ विव्यस चयनका लागि २ पटक छलफल भइसकेको भए पनि आकांक्षी धेरै हुँदा छलफल निष्कर्ष विहीन भएको विद्यालयले जनाएको छ ।

आकांक्षीहरु बिच छलफल गरेर सहमति मै समिति गठन गर्न आइबार बिहान बोलाइएको बैठक पनि सहमति बिनै टुङ्गिएको थियो । विव्यसका लागि एक जना महिला अनिवार्य रहने गरी ४ जनालाई स्थानियस्तरबाट समितिका लागि पठाउनुपर्दछ । तर १० जना आकांक्षी भएपछि सहमतिका लागि बैठक बोलाइएको भए पनि सहमति हुन नसकेको आकांक्षी शंकर बहादुर खड्काले बताए ।
विद्यालयमा समितिमा बस्ने आकांक्षीमा खड्का सहित गेडी बोगटी, रामबहादुर चौधरी, राधादेवी फुलारा, दलबहादुर शाही, चन्द्रा कुमारी कोली, जानुका राना, पार्वती रावल, जयन्ती जोशी र गिरी आउजी छन् । यद्दपी गिरी आउजी आइतबारको बैठकमा सहभागी भइनन् ।
















