खाेज्नुहाेस

स्थानीय आँप प्रति ग्राहकको आकर्षण, काँचै बिक्री हुँदै 

Image

अत्तरिया – आकर्षण रङ्ग, ग्रेडिङ गरिएका आयातित आँप बजार भरी छ्यापछ्याप्ती भए पनि सडक किनारामा काँचै आँप बेचिरहेका इन्द्र सिंह मडैलाई भ्याइनभ्याइ छ । रुखमा पाकेको आँप सकिएपछि उनी काँचै आँप रुखबाटै टिप्दै ग्राहकलाई बेचिरहेका थिए । ‘सुरु सुरुमा रुखमा पाकेको आँप बेचे । किन्ने ग्राहकलाई पुगाउनै नसकिएपछि अहिले रुखबाट टिप्दै काँचो आँप बेचिरहेका छौ’ मडैले भने ‘हामीले चाहेको भए रुखबाट टिपेर औषधी प्रयोग गरेर पकाएर पनि बेच्न सक्थ्यौ । तर, हामीले विषादी रहित आँप बेच्ने भएकाले कुनै पनि औषधी प्रयोग गरेनौ ।’ उनले ग्राहकले किनेको काँचो आँप घरमै आफै पकाउन सक्ने बताए । उनले भने ‘यो घरमा राखेको एक दुई दिनमा पाकिहाल्छ । त्यसपछि यसलाई खान सकिन्छ ।’

कैलालीको गोदावरी नगरपालिका–१० मालाखेतीका मडै सहित ३ जना दाजुभाइ मिलेर गोदावरी नगरपालिका – ५ गेटामा एक स्थानीयको आँप बगैँचा भाडामा लिएर हाल व्यापार गरिरहेका छन् । ५ लाखमा आँपको बगैँचा भाडामा लिएका उनीहरूलाई आँप टिपेर बजारमा बिक्री गर्नुपर्ने भने चिन्ता नै छैन । रुख बाट टिप्दै बारीमै किन्ने ग्राहकको भिड लाग्ने गरेको छ ।

attariya hospital

इन्द्र सिंह मडैले भने, ‘आँप बिक्री गर्नका लागि बजार धाउनु परेको छैन । ग्राहकले बगैँचाबाटै छानाछानी आँप लगिरहेका छन् ।’ आँप किन्नका लागि कैलालीको धनगढी, अत्तरिया लम्की र कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजी लगायत स्थानबाट ग्राहकहरू आउने गरेका छन् । हाल उनीहरूले दैनिक ३५ हजारदेखि ४५ हजारसम्म आँप बिक्री गर्दै आएका छन् । उनीहरूले फुटकरमा दानाको आकार अनुसार प्रतिकिलो १ सय, ८० र ६० मा बिक्री गर्दै आएका छन् ।

navjiwan hospital

पछिल्लो समय उपभोक्तामा सचेतना बढ्दै गएकाले बाहिरबाट आयातित आकर्षक देखिने आँप बजारमा छ्यापछ्याप्ती भए पनि मडै दाजुभाइले बेचिरहेको काँचो आँप भए पनि किन्न तँछाडमछाड गर्ने गरेका छन् । धनगढी अत्तरिया सडक सँगै जोडिएको बारी भएर पनि उनीहरूलाई आँप बिक्री गर्न निकै सहज भएको छ ।

आँप किन्नेहरूले बारीमै ताजा र विषादी रहित आँप पाइने विश्वासका साथ किन्न आउने गरेको बताउने गरेका छन् । आँप किन्न आएका एक उपभोक्ताले भने ‘बजारमा आँप पाइए पनि यहाँको आँप विषादी रहित हुन्छ भन्ने सुनेर किन्न आएका हौ । यो आँप ताजा पनि हुन्छ । पाकेपछि खादा स्वादिलो पनि हुन्छ ।’ स्थानीय आँपको सिजन सुरु हुनु अघि नै भारतबाट बजारमा छ्यापछ्याप्ती आँप आउने गरेका भए पनि यस वर्ष जेठ १८ गते धनगढीमा भारतबाट आयातित आँपमा अत्यधिक विषादी भेटिएर नष्ट गरिएपछि पनि धेरै उपभोक्ता सजक भएका थिए ।

धनगढीको सहिद गेटस्थित कृषि थोक बजारमा बिक्रीका लागि राखिएको आँपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष द्रुत परीक्षण कार्यालय अत्तरियाको टोलीले गरेको परीक्षणमा ६२ रोकावट प्रतिशत कार्बोमेट फेला परेको थियो । विषादी भेटिएपछि अनुगमन टोलीले विषादी भेटिएको २ हजार २६० किलोग्राम आँप जफत गरी नष्ट गरेको थियो । भारतबाट आयातित आँपमा विषादीको जोखिम बढी हुने भए पनि नेपालमै उत्पादित हुने आँपको बजार भने सीमित छ । यहाँको आँप ब्राण्डिङ गर्ने, कोल्ड स्टोरमा राखेर लामो समय सम्म बिक्री नगरिँदा आयातित आँपकै भर पर्नुपर्ने अवस्था रहेको छ ।