धनगढी – पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा सबैभन्दा बढी हस्ताक्षर गण्डकी प्रदेशमा गरिएको छ ।
लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म गण्डकी प्रदेशमा २ लाख ६० हजारभन्दा बढी हस्ताक्षर गरिएको छ । सबैभन्दा कम भने सुदूरपश्चिम प्रदेशमा गरिएको न्यौपानेले बताए । उनका अनुसार उक्त प्रदेशमा २५ हजार हाराहारीमा मात्रै हस्ताक्षर गरिएको छ ।


‘अहिलेसम्म हाराहारी २० लाखभन्दा धेरै हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘अझै बढेको हुन सक्छ । यो मैले दिएको तथ्याङ्क तीन दिन अगाडिको हो । हस्ताक्षरका सबै फारमहरू सङ्कलन गरेर अद्यावधिक गर्न समय लाग्ने हुन्छ । अभियान जारी छ, अद्यावधिक पनि जारी छ ।’
उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ । ‘कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा सङ्कलन भएका हुन् । हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिन लम्ब्याउने रास्वपाले लक्ष्य राखेको छ ।



















