
बझाङ – बझाङका तीन जना कृषक उत्कृष्ट कृषिकर्म गरेबापत प्रदेशस्तरीय भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले प्रदान गर्ने उक्त पुरस्कारबाट छविसपाथीभेरा गाउँपालिका–६, का मकर बोहरा, जयपृथ्वी नगरपालिका–३, का केशवराज विष्ट र खप्तडछान्ना गाउँपालिका–६, का कृषक शम्सेर थापा पुरस्कृत भएका हुन् ।
पुरस्कार राशि जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । बझाङ जिल्लाका पालिका प्रमुख तथा उपप्रमुखहरुको उपस्थितिमा उनीहरुलाई जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराले पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कृत बोहरा र थापाले व्यावसायिक रुपमा प्रांगारिक तरकारी खेती गरिरहेका छन् भने विष्टले बगुंर र कुखुरापालन गरिरहेका छन् ।

