खाेज्नुहाेस

अत्तरियाका ज्यानमारा खाल्डा, धन्नैले जोगियो बालकको ज्यान

Image

अत्तरिया – आइतबार रातीदेखि परेको वर्षाका कारण जलमग्न बनेको अत्तरियामा चोकमा एक बालक खाल्डोमा खसेका छन् । साइकलमा सवार ती बालक सडक नालाको ढक्कन फुटेर बनेको खाल्डोमा खसेका हुन ।

पानीले जलमग्न भएर सडक र नाली छुट्याउन नसकेर ती बालक अचानक खाल्डोमा परेका थिए । उनी खाल्डोमा परेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

attariya hospital

उक्त भिडियो पतञ्जलि योग समिति अत्तरिया अध्यक्ष दुर्गा प्रसाईँले खिचेका थिए । उनले चोक जलमग्न भएको भिडियो खिचिरहेको बेला बालक अचानक खाल्डोमा खसेको बताए । ‘म बिहान ८ बजेतिर चोक जलमग्न भएको भिडियो खिचिरहेको थिए । त्यति बेलै अचानक एक बालक साइकलमा त्यहाँ पुगेर नालामा खसिहाले’ उनले भने ‘चोक जलमग्न भएकाले सडक र नाला छुट्याउन सक्ने अवस्था थिएन ।’

सामाजिक सञ्जाल टिकटक र फेसबुकमा भाइरल उक्त भिडियोमा बालक साइकल सहित नालामा खसेर डुबे पनि आफै बाहिर निस्किन सफल भएका छन् भने पछि नजिकै रहेका स्थानीयले नालाबाट उनको साइकल निकाल्न सहयोग गरेका छन् ।

navjiwan hospital

स्थानीय गोपाल खनालले बालक खाल्डोबाट आफै बाहिर आएको र साइकल निकालिदिएपछि चलाएर गएको बताए । उनले बालकले कुनै चोटपटक नलागेको बताएपछि जान दिइएको बताए । बालकको नाम, ठेगाना भने नसोधेको उनले बताए ।

इलाका प्रहरी कार्यालय मालाखेतीले भने बालक खाल्डोमा खसेको बारेमा कुनै सूचना नआएको जनाएको छ । अत्तरिया चोक वरपर नालाको अवस्था जीर्ण छ । नालामा भएका ढक्कन फुटेर ठाउँ ठाउँमा खाल्डा बनेका छन् । उक्त खाल्डा पानी परेपछि जलमग्न हुने गरेकाले दुर्घटनाको जोखिम हुने गरेको छ । सडक किनाराका नालाका ढक्कन नहुँदा बजार क्षेत्र कुरूप समेत बनेको छ ।

भिडियो

सम्बन्धित समाचार : अत्तरिया चोकको सुन्दरतालाई गिज्याउनले भताभुङ्ग नाला