अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत सञ्चालन हुने गेटा अस्पताललाई २ वर्षमा ३ सय शय्यामा विस्तार गर्ने गरी रणनीति योजना तयार पारिएको छ । अस्पतालका निर्देशक प्रमोद यादवले तयार पारेको चार बर्से रणनीतिक योजनामा आर्थिक वर्ष २०८३/८४ मा गेटा अस्पताललाई ३ सय शय्यामा विस्तार गर्ने उल्लेख छ ।
उनले तयार पारेको रणनीति अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा हाल सञ्चालनमा रहेको ५० शय्याको अस्पतालको आधार मजबुत बनाउने उल्लेख छ । सो अवधिमा जल निकास मर्मत र धोबी घर पुनस्र्थापना, एचएमआईएस स्थापना गरी ५० शय्याको आधारभूत सेवाका लागि कर्मचारी भर्ती पूरा गर्ने, एनआईसीयु, एचडीयु पुनः सञ्चालनमा ल्याउने र मोड्युलर अपरेसन थिएटर निर्माण सुरु गर्ने उल्लेख छ । यस्तै आगामी आर्थिक वर्षमा ओपिडी, आईपीडी सेवामा ५० प्रतिशत सेवाग्राहीको सङ्ख्या बढाउने रणनीतिक योजनामा उल्लेख छ ।


रणनीतिक योजनामा आर्थिक वर्ष २०८३/८४ मा अस्पताललाई ३ सय शय्यामा विस्तार गर्ने उल्लेख छ । जसमा पुरुष÷महिला छुट्टै मेडिसिन वार्ड, सर्जिकल वार्ड थप्ने, पीआईसीयु, आइसियु, क्याथल्याब, डायलिसिस युनिट, सुरक्षित मातृत्व सेवा र एसएएस सहित प्रसूति सेवा सञ्चालनमा ल्याउने उल्लेख छ । सोही वर्ष शैक्षिक प्रशिक्षण कार्यक्रम, सीएमई र अनुसन्धान कोष सुरु गर्ने, एमआरआई, सिटी स्क्यान सहित पूर्ण रेडियोलोजी सुट सञ्चालनमा ल्याउने रणनीतिक योजनामा उल्लेख छ ।
यस्तै आर्थिक वर्ष २०८४/८५ मा क्यान्सर उपचार, बाँझोपन उपचार, पोषण, न्यूरोलोजी, बर्न युनिट स्थापना गर्ने, स्थायी क्याथल्याब टिम सहित हृदय केन्द्र स्थापना गर्ने, एम्बुलेन्स सेवा विस्तार गर्ने र सबै वार्डमा लिफ्ट स्थापना गर्ने, शल्यक्रिया, प्रयोगशाला, इमेजिङका लागि कागजरहित रेकर्ड प्रणाली पूरा गर्ने र प्रत्यारोपण सम्भाव्यता अध्ययनका लागि दातृ संस्था/गैरसरकारी संस्थासँग साझेदारी गर्ने उल्लेख छ ।

निर्देशक यादवले तयार पारेको रणनीतिक योजनामा आर्थिक वर्ष २०८५/८६ मा ६ सय शय्याको क्षेत्रीय रेफरल मोडेल अस्पताल बनाउने उल्लेख छ । जसमा पूर्ण प्रत्यारोपण, ट्राउमा र मधुमेह उपचार केन्द्र स्थापना गर्ने, जेनेटिक प्रयोगशाला र स्क्रिनिङ युनिट सुरु गर्ने, १०० प्रतिशत पदहरूमा कर्मचारी नियुक्त गर्ने र सुदूरपश्चिम प्रदेशको आधिकारिक प्रदेश स्तरीय रेफरल र शैक्षिक अस्पताल घोषणा गर्ने उल्लेख छ ।

आर्थिक वर्ष २०८६/८७ मा आइसियु, एनआईसीयु, पीआईसीयु, एचडीयु अन्कोलोजी, शल्यक्रिया सेवा विस्तार गर्ने, प्रदेशभरिका रोगीहरूका लागि एकीकृत उच्चस्तरीय स्वास्थ्य सेवा केन्द्र, चिकित्सा शिक्षा, अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगमा अग्रणी संस्था बनाउने योजना रहेको रणनीतिक योजनामा उल्लेख छ ।
यस्तै कागजरहित इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सञ्चालन गर्ने, शैक्षिक क्याम्पस सँगै शिक्षण, इन्टर्नसिप र अनुसन्धानका लागि मेडिकल कलेज सँग आबद्ध हुने उल्लेख छ । निर्देशक यादवले तयार पारेको रणनीतिक योजनामा चालु आर्थिक वर्ष सम्ममा २८ वटा भवन निर्माण सम्पन्न भएकोमा धेरै भवनहरू प्रयोगमा आउन नसकेर बिग्रँदै गएको उल्लेख छ । यस्तै हाल साधारण तथा विशेषज्ञ बहिरङ्ग (ओपिडी) सेवा र आकस्मिक कक्ष पुनः सञ्चालनमा ल्याइएको उल्लेख छ ।

२०८० कार्तिक १ गते देखि सञ्चालनमा आएको अस्थायी अस्पतालमा हाल १४१ स्वीकृत करार पद तोकिएको भए पनि हाल ९८ पद मात्रै पूर्ति भएको निर्देशक यादवले बताए । उनका अनुसार हाल विशेषज्ञ चिकित्सक (अन्कोलोजी, न्यूरोलोजी, कार्डियोलोजी), अतिरिक्त नर्सिङ कर्मचारी, प्रयोगशाला प्राविधिक, रेडियोलोजी टेक्निसियनको अभाव रहेको छ । उनले ३ सय शय्याको अस्पताल सञ्चालन गर्न आर्थिक वर्ष २०८२/०८३ मा ३४२ र ६ सय शय्याको अस्पताल सञ्चालन गर्न आर्थिक वर्ष २०८४/०८५ मा ६८४ मेडिकल स्टाफ नियुक्त गर्नुपर्ने बताए ।