अत्तरिया- कैलालीको अत्तरियामा संचालित पिएफए भेट्रान्स कप क्रीकेट प्रतियोगिताको उपाधी अनुपमा अलराउन्डर्सले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा न्यु ग्वासी सहारा क्यापिटल्सलाइ ७४ रनको फराकिलो मतान्तरले पराजित गर्दै अनुपमाले उपाधी जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको अनुपमाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ११२ रन मात्रै बनाउन सकेको थियो । उसका लागि एकेन्द्र बमले २२, आशिष धामिले १८ र सुर्य कमल श्रेष्ठले १५ रनको योगदान दिए । बलिङमा महबुब आलम, देबराज पनेरु र गोबिन्द भट्टले समान २/२ विकेट लिए ।

११३ रनको विजयी लक्ष्य पछ्याएको न्यु ग्वासी सहारा क्यापिटलले ११.५ ओभरमा सबै विकेट गुमाएर ३८ रन मात्रै बनाउन सक्यो । न्यु ग्वासी सहाराका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । बलिङमा अनुपमाका बलर प्रेम साउँदले ५ र राम प्रवेश रानाले ३ विकेट लिए ।
उपाधी जितेसंगै अनुपमा अलराउन्डर्सले नगद रु. १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको न्यु ग्वासी सहारा क्यापिटल्स ले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा न्यु ग्वासी सहाराका गोबिन्द भट्ट बेस्त बलर घोषित भए भने अनुपमाका मनोज घटाल बेस्ट ब्याट्सम्यान घोषित भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका अनुपमाका प्रेम साउँद प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।

















