खाेज्नुहाेस

कैदीबन्दी मृत्यु प्रकरण : कैलालीका सहायक प्रजिअको संयोजकत्वमा छानबिन समिति गठन

Image

धनगढी – कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएपछि घटनाको छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन् ।

attariya hospital

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उक्त समितिलाई सात दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताए ।

navjiwan hospital

सोमबार डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु भएको थियो । कैलाली जिल्ला कारागारमा रहेका रहेका पाली सोमबार एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उनको आधा घण्टामै मृत्यु भएको प्रहरीको भनाइ छ ।

बैंकिङ्ग कसुरमा पालीलाई फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो ।

पालीको शरीरमा चोटपटक देखिएको भन्दै पीडित परिवारले हत्या भएको शंका व्यक्त गरेका छन् । घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले शव बुझ्न मानेका छैनन् । घटनाप्रति आक्रोशित परिवारजनले बुधबार डडेल्धुरामा बजार बन्द गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

मृतकका दाई जगदीश रावलले शरीरभर निलडाम भएकाले घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने बताए । मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन् ।