दार्चुला– कैलालीको धनगढी उपमहानगरपालिका–१ का सुरेशकुमार चौधरीलाई दार्चुलामा बसेर आफ्नो कला बेच्दै गरेको चार वर्ष पूरा भयो । २०७९ सालमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला परिसरको बाहिरी पर्खालमा हिमाली क्षेत्रमा पाइने संरक्षित र लोपोन्मुख वन्यजन्तुको चित्र कोर्न दुई हप्ताका लागि दार्चुला आएका सुरेशको कला यहाँका स्थानीयले मन पराएपछि उनी दार्चुलामै जमेर बसेका छन ।

कला मन पराएर प्रशस्त काम दिलाउने भेटिएपछि उनलाई दार्चुला छोड्न मन लागेन । दुई हप्ता काम गरेर फर्किने योजना बनाएका सुरेश यतै बसेर काम गर्न झन् उत्साहित देखिन्छन । २०४८ सालदेखि चित्र कोर्दै आएका उनले महिनाको दुई हजार पाँच सय रुपियाँ ज्यालामा काठमाडौँमा काम सुरु गरेको स्मरण गरे । फुपूको छोरा मेवाराम चौधरीले हस्तकला सिकाएकै कारण यहाँसम्म पुगेको बताउने उनले २०५६ सालमा कोसेली आट्र्स नाम दिएर धनगढीमा व्यवसाय सुरु गरेका थिए ।


हस्तकला बेचेर महिनाको एक लाख रुपियाँ आम्दानी गर्ने सुरेशले सबै खर्च कटाएर वर्षको १० लाख रुपियाँ बचत गर्दै आएको बताउँछन् । सुरेशले दार्चुलाका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक स्थलमा जनचेतनामूलक सन्देश, धार्मिक, सांस्कृतिक, परापूर्वकालका वेशभूषा झल्किने कलात्मक चित्र, प्रतिष्ठित व्यक्ति, दार्चुलामा पाइने लोपोन्मुख वन्यजन्तुलगायतका चित्र कलात्मक तरिकाले कोरेका छन ।
सुरेशले दुई सय रुपियाँ वर्गफिटमा आफ्नो कलालाई बेच्दै आएका छन । २०७० सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट सम्मानित भएका सुरेशलाई पेसाप्रतिको लगाव झन् बढेको छ । युवालाई हस्तकला पेसामा लाग्न सुझाव दिँदैँ उनले भने ‘हातमा सिप हुने मान्छे भोको मर्नु पर्दैन । सिप सिक्नुस् आत्मनिर्भर बन्नुस् ।’ बढ्दो प्रविधिको विकासले केही समय हस्तकला थन्किए पनि पुनः लयमा फर्किएको उनको भनाई छ ।