अत्तरिया – रञ्जिता कँडेलले आफ्नो तरकारी, फलफूल बारीको सबैभन्दा माथिल्लो भागमा एउटा पानी पोखरी निर्माण गरेकी छिन् । खानेपानीको हाहाकार हुने भए पनि ‘जहाँ इच्छ्या त्यहाँ उपाय’ भनेझैँ उनले त्यही पोखरीबाट करिब ५ रोपनी जग्गामा तरकारी, फलफूल खेती गर्दै आएकी छिन् । ‘हामीसँग खाने पानी कै समस्या छ । तर, पनि हामीले प्लास्टिकको पोखरी बनाएर भए पनि तरकारी फलफूल खेती गर्दै आएका छौ’ कैलालीको चुरे गाउँपालिका – १ मा तरकारी खेती गर्दै आएकी उनले भनिन् ‘यो सबै पोखरी बनाएर सहज भएको हो । हामी पोखरीमा पानी सङ्कलन गर्छौ । आकाशबाट आएको पानी पनि त्यही पोखरीमा जम्मा गर्छौ ।’
५ सय बोट सुन्तला र तरकारीमा सिम्ला, गोलभेँडा, बन्दा काउली, सिमी, खुर्सानी, खेती गरेकी उनले सीमित पानी हुँदा पनि त्यसलाई पोखरीमा जम्मा गरेर तरकारी खेती गरेको बताइन् । ‘फाइदा त भएर नै हामी पानीको अभाव हुँदा पनि कृषिमा लागेका हौ । बोकेरै पानी हाले पनि यो क्षेत्रमा तरकारी खेतीबाट फाइदा छ’ उनले भनिन ‘अहिले तरकारी, फलफूल खेतीबाटै घर खर्च चलाउन पुगाएका छौ ।’


उनले ९ दिनमा ४ घण्टाका लागि उपलब्ध हुने पानीले तरकारी खेती गर्ने गरेको बताइन् । ‘३ किलोमिटर टाढा पाइपबाट ल्याइएको पानीले पोखरी भर्ने गरेका छौ’ उनले भनिन ‘नौ दिनमा ४ घण्टा पानी भर्ने पालो आउँछ । त्यही पानीले तरकारी खेती गर्छौ। खडेरीमा पोखरी भरिदैन । बर्सादमा पुगिहाल्छ । नौ दिनमा भरिएको पोखरीको पानीले हामी ९ दिन सम्म सिँचाइ गर्छौ ।’ उनले पछिल्लो समय जनसङ्ख्या बढ्दै जाँदा पानीको समस्या झन् बढेको बताइन् । उनले उत्पादन गर्न सके व्यापारी घरबाटै लगेर जाने भएकाले बजारको भने कुनै समस्या नभएको बताइन् ।
सुन्तला र गोलभेँडा खेती गरेका स्थानीय सुरेन्द्र धामीले ५ रोपनीमा गरिएको खेतीबाट वार्षिक १० लाख सम्म आम्दानी हुने गरेको बताए । उनले सिँचाइको समस्याका बाबजुद कृषि बाटै ५ जनाको परिवार पाल्न पुगेको बताए । उनले पनि सिँचाइका लागि प्लास्टिक पोखरीकै भर पर्ने गरेको बताए ।


‘सिँचाइको लागि प्लास्टिक पोखरी बनाएका छौ । समस्या पानीको छ । ७ दिनमा पोखरी भर्न ४ घण्टा पालो आउँछ । परिवारको सङ्ख्या बढी भएकाले ४ घण्टा मात्रै भर्न पुग्छ । ४ घण्टामा पोखरी जति भरियो त्यही पानीले हामीले दोस्रो पालो आउँदा सम्म सिँचाइ गर्ने पानी जम्मा गर्छौ’ उनले भने ‘सुन्तलामा सिँचाइ गर्न त पुग्दैन । कहिलेकाहीँ सुन्तलामा सिँचाइ गर्छौ । तरकारीका लागि पोखरीको पानी पुग्छ ।’ उनले यो वर्ष फागुनको महिना असिना पर्दा सुन्तलामा ठुलो क्षति पुगे पनि गत वर्ष १ सय क्युन्टेल सुन्तला बिक्री गरेको बताए । उनले घरबाटै व्यापारीले लग्ने भएकाले बजारको कुनै समस्या नभएको बताए ।

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले चुरेमा कृषिको धेरै सम्भावना रहेको बताए । उनले यसका लागि किसानले सीमित श्रोत साधनका बिच व्यवसायीक उत्पादन गर्न आवश्यक रहेको बताए । ‘यहाँको उत्पादन कैलाली कञ्चनपुरका बजार सँगै भारत सम्म पुग्छ । तर, अहिले पनि धेरै किसान व्यवसायीक हुन सकेका छैनन् । हामीले तराइमा तरकारी खेती नहुने समय असार देखि मङ्सिर सम्म तरकारी उत्पादन गर्न सके राम्रो मूल्य पाउँन्छौ । त्यति बेला पानीको पनि समस्या हुँदैन । त्यसका लागि टनेलमा तरकारी खेती गर्न सक्यो भने धेरै राम्रो उत्पादन हुन्छ’ उनले भने ‘५० मिटर लामो टनेलमा गोलभेँडा खेती गर्न सके ५० क्युन्टल नै उत्पादन गर्न सकिन्छ । १० टनेलमा गोलभेँडा खेती गर्न सक्ने हो भने ५० लाख कमाउन कहीँ जानु पर्दैन ।’
उनले चुरेमा सुन्तला लगायतका फलफुलको पनि त्यतिकै सम्भावना रहेको बताए । उनले चुरेमा २ लाख देखि ३० लाख सम्मको सुन्तला बिक्री गर्ने किसान रहेको बताए । उनले चुरेमा कृषिको सम्भावना भएकाले नगरबाट प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्दै आएको बताए । ‘अहिले पनि हामी प्रविधि सँग जोडिन नसक्नु र जलवायु परिवर्तनको असरबाट जोगाउन सक्ने हो भने चुरेमा कृषिको निकै सम्भावना छ । हामीले सीमित श्रोत साधनलाई प्रयोग गरेर पनि उत्पादन गर्न सक्छौ । सीमित पानीलाई प्लास्टिक पोखरी, सोइल ट्याङ्की बनाएर पनि पानी रिचार्ज गर्न सकिन्छ । हामीले गत वर्ष मात्रै २ सय वटा सोइल ट्याङ्की निर्माण गरेका छौ’ उनले भने ‘हाम्रो अबको चाहना प्रत्येक घरमा एक प्लास्टिक टनेल निर्माण गरेर विषादी रहित तरकारी उत्पादन गर्ने हो ।’
उनले धेरै सम्भावना हुँदा पनि मानिसहरू यहाँको सम्भावना नदेखेर बिदेसिने क्रम बढेकाले यसलाई रोक्न आगामी आर्थिक वर्षमा प्रत्येक किसानलाई प्लास्टिक टनेल दिने, विउविजन दिने योजना रहेको बताए । एक वडा एक भेटनरी र एक कृषि प्राविधिक राखेको बताउँदै उनले आगामी आर्थिक वर्षको लागि कृषिमा कम्तीमा एक करोड विनियोजन गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।