खाेज्नुहाेस

ओलानीलाई सर्पको त्रास 

Image

अत्तरिया – विकासका भौतिक पूर्वाधार सडक, विद्युत्, खानेपानी जस्ता समस्या कम हुँदै गएकोमा खुसी साट्दै गर्दा वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले सर्पको टोकाइको पीडा भने भुल्न सकिरहेका थिएनन् । भौतिक विकासमा निकै पछि परेको ओलानीमा पछिल्ला केही वर्षयता विकास निर्माणका काम भए पनि ओलानी क्षेत्रका जनताले सर्पको टोकाइबाट भोगेको पीडाको समाधान नहुँदा उनी निराश थिए ।

‘गोदावरी – १० मा सबै कुराको विकास भयो । धेरै कुरा परिवर्तन हुने क्रममै छन् । तर, अब मेरो एउटै चाहना छ । अब आउने बजेटमा कम्तीमा २ बेडको आइसियु र सर्पदंश  केन्द्र मालाखेती अस्पतालमा खोलिदियो भने मेरो राजनीति सफल भएको ठान्ने दिए’ केही दिन अघि गोदावरीका नगरप्रमुख सहभागी वडा भेलामा बोल्दै शाहीले भने ‘म एम्बुलेन्सको ड्राइभर जस्तै भएकाले मैले बुझेको छु । कति पीडा हुन्छ सर्पले टोकेपछि । कति तनाव हुन्छन् ।’

add everest academy
attariya hospital

उनको एउटै माग थियो, ओलानीका जनतालाई सर्पको टोकाइबाट जोगाउन मालाखेती अस्पतालमा सर्प दंशको उपचार केन्द्र । ‘हाम्रो बाह्रै वडालाई छुने गरेर मालाखेती अस्पतालमा सर्प दंशको उपचार केन्द्र भयो भने मेरो कार्यकाल सफल भएको मान्ने थिए’ दोस्रो कार्यकालका लागि वडाध्यक्ष बनेका शाहीले भने ‘साना बच्चाहरू, भाइबहिनीहरू सर्पको टोकाइका कारण बित्नुपर्ने अवस्था छ । विशेष गरेर वडा नम्बर १० को माथिल्लो बेल्ड र ११, १२ मा सर्पको धेरै टोकाइबाट मर्नुपर्ने अवस्था छ । यस क्षेत्रमा हरेक वर्ष २÷३ जनाले ज्यान गुमाउनु परेको छ ।’  उनले ओलानीमा सर्पको धेरै बिगबिगी भएकाले मालाखेती अस्पतालमा सर्पदंश उपचार केन्द्र भएर सहज हुने बताए ।

navjiwan hospital

विपन्न समुदायको बस्ती बढी भएको ओलानीमा ढुङ्गा, माटोले बनाएका कच्ची घरमा बढी सर्पको जोखिम हुने गरेको छ । वडा नम्बर १२ का वडाध्यक्ष भीम खड्काले भने ‘यो सर्पको एकदमै बढी जोखिम भएको क्षेत्र हो । यहाँ सर्पले टोकेपछि धनगढी पु¥याउँदा सम्म मानिसहरूले ज्यान गुमाउने गरेका छन्’ उनले भने ‘मालाखेती अस्पतालमा सर्प दंशको उपचार भए त धेरै राम्रो हुन्थ्यो ।’

attariya technical collage

उनले ओलानी क्षेत्रमा बढी ढुङ्गा भएको ठाउँ भएकाले ढुङ्गा भएको ठाउँमा सर्प बढी हुने गरेको बताए । ‘चुरेबाट बगेर आउने नदीबाट पनि यहाँ सर्प पुग्ने गरेका छन् । समथर ठाउँ आउने बित्तिकै माथिबाट आएका सर्प पानीको बहाव कम हुने बित्तिकै बस्तीतिर आउने गर्दछन्’ उनले भने ‘यहाँ कच्ची घर बढी भएकाले पनि जोखिम बढी छ । कच्ची ढुङ्गाको घरमा बढी जोखिम छ ।’

उनले यातायातको सुविधा हुँदा पहिलेको तुलनामा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए । ‘पहिले सवारी साधनको पनि अभाव थियो । सडक पनि थिएन । गाउँमा एउटा पनि मोटरसाइकल हुँदैनथ्यो । मैले पनि कति मानिस सर्पले टोकेका बोकेको छु’ उनले भने ‘अहिले घरघरमा साधन हुँदा मर्नेको सङ्ख्यामा कमी आएको छ । अहिले मानिसहरूमा जनचेतना पनि बढेको छ । पहिले उपचारका लागि नै नजाने धामी, वैद्यकोमा लगेर मन्तर गर्ने गर्थे अहिले जनचेतनाका कारणले अस्पताल लग्ने गर्दा मृत्यु  हुनेको सङ्ख्यामा कमी आएको छ ।’

Karma Consultancy

उनले पछिल्लो समय कच्ची घरको सङ्ख्यामा पनि कमी आएकाले जोखिम कम हुँदै गएको बताए । उनले भने ‘अहिले कच्ची घर पक्की बन्दै  गएका छन् । मानिसहरू झुल लगाएर सुत्ने गर्दा पनि जोखिम कम भएको छ । अहिले लाइटको पनि व्यवस्था भएकाले सर्पको टोकाइका घटनामा कमी आएको छ ।’ उनले यकिन तथ्याङ्क नभएपछि सर्पको टोकाइबाट मृत्यु भएका घटना काम सुन्ने गरिएको बताए । उनले सर्पले टोकेमा उपचारका लागि धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा लग्ने गरिएको बताए ।

जानकारहरूका अनुसार सर्पको टोकाइबाट बच्न सकेसम्म अँध्यारोमा नहिँड्ने तथा हिँड्नै परे बत्ती बालेर मात्रै हिँड्ने, खाली खुट्टा नहिँड्ने, सकेसम्म लामो बुट लगाएर हिँड्ने, खेतबारी, जंगलमा काम गर्दा घुँडासम्म आइपुग्ने प्लास्टिकको बुट लगाने, भुईँमा नसुत्ने, राति झुल लगाएर मात्र सुत्ने, घर वरपर सरसफाइ गर्ने, घर वरिपरिका झ्याङ तथा घाँसहरू काट्ने, सर्प लुक्ने ठाउँहरू, जस्तै बाँस तथा काठका टुक्राहरू घरबाट टाढा राख्ने, झ्याल ढोकाहरू राम्रोसँग लगाउने जस्ता काम गर्न सके सर्पको जोखिमबाट बच्न सकिन्छ ।