अत्तरिया– कैलालीको अत्तरियामा आजबाट सुरु भएको भेट्रान कपको छैटौ संस्करणमा न्यू ग्वासी सहारा क्यापिटल्सले विजयी सुरुवात गरेको छ । आईतबार भएको उद्घाटन खेलमा कैनोडा लायन्सलाई १२१ रनको फराकिलो अन्तरले पराजित गर्दै न्यू ग्वासी सहारा क्यापिटल्सले विजयी सुरुवात गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको ग्वासी सहाराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २८० रन बनाएको थियो । ग्वासी सहाराका ओपनरद्धय निरज चन्द र लोकेन्द्र थापाले उत्कृष्ट बाटिङ गरे । दुवै बिच पहिलो विकेटका लागि १९८ रनको उत्कृष्ट साझेदारी भएको थियो । १२.१ ओभरमा चन्द १०८ रन बनाउदै आउट भएपछि ग्वासी सहाराले पहिलो विकेट गुमाएको थियो । ४० बल खेलेका चन्दले ११ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर थापाले पनि धमाकेदार पारी खेलेका थिए । ४९ बलमा ११० रन बनाएका उनले ३ चौका र १३ छक्का प्रहार गरे ।


एकसमय तिन सय कट्ने अपेक्षा गरिएको ग्वासी सहाराको रन दुवै ओपनर आउट भएपछि भने कममै रोकिएको थियो । त्यसबाहेक कप्तान अरुण भण्डारीले १६ रन बनाए । बलिङमा कैनोडाका सुरेन्द्र कडायतले २ विकेट लिए । त्यस्तै प्रकाश चन्द, सुरेश सिँ पुजारा र सञ्जु चन्दले समान १/१ विकेट लिए ।
२८१ रनको वृहत लक्ष्य लिएर मैदानमा उत्रिएको कैनोडाको सुरुवात एकदमै खराब रह्यो । पहिलो बलमै ओपनर सञ्जु चन्दलाई गुमाएको कैनोडाले ६३ रन बनाउदा सम्म ६ विकेट गुमाईसकेको थियो । त्यसपश्चात केही राम्रो साभेदारी बन्दा कैनोडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाउन सक्यो । ब्याटिङमा सातौ नम्बरमा आएका कैनोडाका प्रभात थापाले सम्हालिएर टिमको स्कोर डेढ सय सम्म पु-याउन सके । अन्य ब्याट्सम्यानहरु धमाधम आउट हुँदा थापाले नटआउट रहदै ६८ रनको पारी खेले । कुल ५० बल खेलेका उनले १० चौका र २ छक्का प्रहार गरेका थिए । बलिङमा न्यू ग्वासी सहारा क्यापिटल्सका महेन्द्र भट्टराईले ३ तथा गोबिन्द भट्ट र भरत टमटाले समान २/२ विकेट लिए । यस्तै बिक्रम कार्की र लोकेन्द्र थापाको नाममा पनि एक/एक विकेट रह्यो ।
प्रतियोगिता अन्तरगत सोमबार दुई ओटा खेलहरु हुने आयोजक पिएफए स्पोट्र्स क्लबले जनाएको छ । सोमबार बिहान अत्तरिया सिटी र गेटा प्रोफेस्नल्स एकआपसमा भिड्ने छन भने दिउँसो २ः३० बजे अनुपमा अल्राउन्डर्स र बुढा बाग भिड्नेछन् ।
असार ७ गतेसम्म चल्ने प्रतियोगिताको प्रथम पुरस्कार एक लाख मेडल ट्रफि प्रमाण–पत्र रहेको छ भने द्वितीय पुरस्कार पचास हजार नगद मेडल प्रमाण–पत्र रहेको छ ।
त्यस्तै म्यान अफ द सिरिजलाई नगद पन्ध्र हजार, ट्रफि प्रमाण–पत्र उपलब्ध गराइनेछ भने ब्याट्स म्यानलाई नगद दस हजार ट्रफि प्रमाण–पत्र र वेस्ट बलरलाई नगद दस प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई दुई हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । वनखेतस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भइरहेको प्रतियोगिताको मुख्य प्रवद्र्धकमा गोदावरी नगरपालिका रहेको छ ।















