डडेल्धुरा – डडेल्धुराको राजनीतिमा ‘मम्याल बाजे’ नामले परिचित कर्णसिंह रावलको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका निवासी रावल विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिँदै आएका थिए । नवदुर्गा गाउँपालिकास्थित मम्या गाउँका बासिन्दा भएकाले उनी ‘मम्याल बाजे’ भनेर चिनिन्थे ।

२०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध चुनाव लडेका रावलले प्रचारप्रसार नगरीकनै उम्मेदवारी दिने परम्परा बनाएका थिए । ‘मलाई जिल्लाभरि चिन्छन्, त्यसैले प्रचार गर्दिनँ’ भन्ने उनी प्रत्येक निर्वाचनमा सूर्यमुखी फूल अंकित ब्याच लगाएर उपस्थित हुन्थे ।


उनले अन्तिम पटक २०७४ को चुनावमा उनले २८० मत प्राप्त गरेका थिए । यसपटक पनि उनी उम्मेदवार बन्ने तयारीमा थिए, यद्यपि उनको स्वास्थ्य अवस्थाले साथ दिइरहेको थिएन ।