अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रवक्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्टले नगरपालिका एक वडा एक खेलमैदानको अवधारणामा अघि बढीरहेको बताएका छन । मंगलबार अत्तरियामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

अत्तरियाको पिएफए स्पोट्र्स क्लबले यही जेठ २५ गतेदेखी पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको छैठौ संस्करण आयोजना गर्न लागिरहेको छ । सो विषयमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रवक्ता भट्टले नगरका सबै वडाहरुमा एक वडा एक खेलमैदान बनाउने अवधारणा नगरले अघि सारेको र सो कार्यका लागि सहयोग गर्न सबै क्लबहरुलाई आग्रह गरे । ‘प्रत्येक वडामा एउटा खेलकुद मैदान बनाउनुपर्छ भनेर नगरपालिका लागिरहेको छ’ उनले भने ‘प्रत्येक वडामा छरिएर रहेका क्लबहरुलाई एकजुट गराएर कुन वडाको कुन ठाउँमा खेलमैदान बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा नगरपालिकालाई सहयोग गर्न सबैलाई अनुरोध छ ।’


उनले खेलकुद क्षेत्रका विषयमा नगरपालिका सदैव सकारात्मक रहेको समेत बताए । ‘गोदावरी नगरपालिका र वडाको तर्फबाट खेलको क्षेत्रमा जुन किसिमको सहयोग गर्नुपर्छ सधै स्थानीय सरकार तपाईहरुको साथमा रहनेछ’ उनले भने ‘यो क्षेत्रमा खेलकुदलाई अगाडी बढाउनुपर्छ भनेर हाम्रो कार्यपालिका बैठकमा नियमित कुरा उठ्ने गरेको र सोका लागि नगरप्रमुख पनि सदैव सकारात्मक रहनुहुन्छ ।’
उनले विगतमा विद्यालयहरुले नै अतिरिक्त क्रियाकलापहरुमार्फत खेलकुदका कार्यक्रमहरु गर्दै आएकोमा पछिल्लो समय त्यस्ता कार्यक्रमहरु क्लबहरुले गर्न थालेको बताए । ‘पहिला पहिला प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलापका कार्यक्रम हुन्थे, त्यहीबाट खेलाडीहरु उत्पादन हुन्थे भन्ने मैले बुझेको छु’ उनले भने ‘तर अहिले धेरै विद्यालयहरुमा अतिरिक्त क्रियाकलापहरु गर्न कन्जुस्याई भैरहेको अवस्थामा जो क्लबहरुका माध्यमबाट साथीहरुले कार्यक्रमहरु अघि बढाउनुभएको छ, त्यो एकदमै उपयुक्त छ ।’ उनले यस्ता किसीमका कार्यक्रमहरुले शरिरलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै पछिल्लो समय युवाहरुमा फैलिएको विसंगती विकृतिलाई कन्ट्रोल गर्नमा पनि महत्वपुर्ण योगदान दिने विश्वास लिएको बताए ।