डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिका– १२ लालडुंगा बजारका ६४ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । सोमबार एक औपचारीक कार्यक्रमका बिच सो क्षेत्रका ६४ जना अव्यवस्थीत बसोबासीलाई लालपुर्जा वितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख भरत जोशी बडायरको सभापतित्वमा आयोजित लालपुर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । कार्यक्रममा भूूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजाल, सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

लालढुङ्गा बजारका अव्यवस्थित बसोबासीले करिब एक दशकपछि मात्रै जग्गाधनी पुर्जा पाएका हुन् । २०५५ सालमा डडेल्धुराको परशुराम १२ को तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले नापजाँच गरी जग्गा धनी दर्ता पुर्जा दिइसकेको थियो । तर दर्ताले बैधता नपाएकाले पुनः दर्ता प्रक्रिया सुरु गरि सोमबार स्थानीयहरु लाई पुर्जा वितरण गरिएको हो ।
मुख्यमन्त्री शाहले सो वडाकी कालीदेवी कामीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै कार्यको सुभारम्भ गरेका थिए । सो अवसरमा सबै भन्दा पहिले पुर्जा दर्ता प्रकृया गर्ने र राजस्व जम्मा गर्ने प्रेम बहादुर बोहरालाई दोसल्ला ओडाइ सम्मानसमेत गरिएको थियो ।
नगरपालिकाका अन्य क्षेत्रमा पनि छिटै पुर्जा वितरण प्रकृया गरिने आयोगका डडेल्धुरा अध्यक्ष कैलास कुमार पाण्डेयले बताए । लालढुङ्गा बजारका ७२ जनाको १०९ कित्ताको जग्गा दर्ता गरिएको बताईएको छ ।
















