खाेज्नुहाेस

‘विद्यालयको गुणस्तर सुधार्ने नाममा शिक्षक विद्यार्थीलाई तनावमा राखिदैछ’

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्ने नाममा शिक्षक विद्यार्थीहरुलाई तनावमा राख्ने काम मात्रै गरेको आरोप लागेको छ । नेकपा एमाले कृष्णपुर नगरकमिटिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्ने नाममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई मानसिक तनाव दिने काम मात्रै गरेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा एमालेले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्वार्थ प्रेरित नभई स्वच्छ र पवित्र मनसायले दरबन्दी मिलान लगायतका काम गर्नुपर्ने बताएको छ । सम्मेलनमा नगरपालिकाले आफैले जारी गरेको सूचनाको बर्खिलापमा काम गरि शिक्षाको गुणस्तर घटाउन थालेको आभाष भएको एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा कृष्णपुर नगर ईन्चार्ज गणेश सिँ ऐरीले बताए ।

attariya hospital
navjiwan hospital

‘नगरपालिका आफैले सूचना जारी गर्दै ५ वर्ष सेवा अवधी पुगेका सबै शिक्षकलाई निवेदन पेश गर्न लगाएको थियो’ ऐरीले भने ‘तर निवेदन नै नदिएका तथा ५ वर्ष सेवा अवधी नपुगेका शिक्षकहरुलाई प्राथमिकता क्रम नै नतोकिएका विद्यालयमा पठाउने, विभिन्न आरोप लगाई शिक्षकहरुलाई प्रताडित गर्न खोज्ने, वर्षाैदेखी कार्यरत शिक्षकहरुलाई सार्न नखोज्ने लगायतले नगरपालिका शैक्षिक गुणस्तर सुधार गर्न नभई यसको अन्त्य गर्न लागिपरेको आभाष भैरहेको छ ।’ उनले विभिन्न गतिविधिहरुका कारण नगरपालिकाले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्ने नाममा उल्टो धरासायी बनाउन लागिरहेको महसुस हुन थालेको बताए । नगरपालिकाका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम हुनुपर्छ भन्ने हिमायतीका रुपमा एमाले रहेको समेत ऐरीको भनाई थियो ।

पत्रकार सम्मेलनमा एमाले कृष्णपुरले शिक्षक दरबन्दी मिलान तथा शिक्षाको गुणस्तर लगायतका विषयमा विभिन्न आशंकाहरु दर्शाएको थियो । पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा पनि एमालेले ८ बुदाँमा आफ्ना आशंकाहरु सार्वजनिक गरेको छ । जसमा एमालेलाई गलत ढंगले आरोप लगाउने तर आफै संस्थागत विद्यालयको संस्थापक भएर काम गरिसकेकाले सामुदायिक विद्यालय धरासायी बनाउन खोजिएको, शैक्षिक सत्रको एक महिना भन्दा बढी बितिसक्दा पनि नियमित पठनपाठन हुन नसक्नुमा कस्को जिम्मेवारी तथा सस्तो लोकप्रियता पाउनका लागि भाषण र सामाजिक सञ्जालमा मात्रै शैक्षिक गुणस्तर सुधारको प्रपञ्च होकी लगायत रहेका छन ।

त्यसबाहेक शिक्षक सेवा आयोग उत्तिर्ण भई लामो समयदेखी विद्यालयमा कार्यरत शिक्षकहरुको योग्यतामाथी अनावश्यक रुपमा प्रश्न उठाई अपमानित गर्ने, धम्क्याउने, थर्काउने, तर्साउने, आरोपित गर्ने, विभिन्न किसिमका लोभ लालच देखाउने लगायतका कामहरु समेत भएगरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै नगरपालिकाको नगर शिक्षा समितिको २०८२ वैशाख ३१ गतेको बैठकको निर्णय तत्काल सार्वजनिक गरिनुपर्ने, नगरपालिकाले जारी गरेको सूचनाबमोजिम नै अनिवार्य रुपमा ५ वर्षे अवधी पुगेका शिक्षकहरुको दरबन्दी मिलान गरिनुपर्ने, आफ्नो मान्छेलाई यथावत राखी अन्यलाई सरुवा गर्ने नीति बन्द गरि सबैलाई नियमानुसार सार्नुपर्ने, दिर्घरोगी, महिला र अपांगता भएका शिक्षकहरुको हकमा सरुवा गर्दा न्यायसँगत रुपमा रोजेको विद्यालय वा कार्यरत विद्यालयमा राखिनुपर्ने लगायतका मागहरु समेत राखिएको छ । एमालेले उक्त मागहरु सम्बोधन हुने गरी यथाशिघ्र दरबन्दी मिलान नगरी स्वार्थ प्रेरित भएर गरिए आनदोलनका कार्यक्रम सार्वजनिक गरिने समेत जनाएको छ ।