धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहका सरकारले एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रादेशिक इकाईले धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबिच अन्तरसम्बन्ध सुदृढीकरण नीति कार्यक्रम तथा बजेट सम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यसका लागि तीन तहको सम्बन्ध प्रगाढ बनाउनु पर्ने बताए ।


‘तीन तहको सरकारले एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको छ’ मुख्यमन्त्री शाहले भने ‘अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्छ । बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई पटक पटक दोहो-याउने हो भने सङ्घीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ ।’
उनले सही रूपमा परिचालन हुने हिसाबले बजेट निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा मुख्यमन्त्री शाहले एक साताको औपचारिक भारत भ्रमण फलदायी भएको जानकारी गराएका थिए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूची प्रस्तुति सहित स्वागत मन्तव्य राखेको अन्तरक्रिया कार्यक्रममा विभागीय मन्त्रीहरू, विषयगत समिति सभापतिहरू, प्रदेशसभा सदस्य, मुख्यसचिव, विभागीय सचिवहरू र सुदूरपश्चिमका सबै पालिका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
