अत्तरिया – कैलालीको अत्तरियामा तीन वर्ष अघि निर्माण गरिएको कल्भर्ट अझै प्रयोगमा आउन सकेको छैन । पूर्व पश्चिम राजमार्ग अन्तरगत सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत निर्माण गरिएको कल्भर्ट प्रयोगमा आउन नसकेको हो । पूर्व पश्चिम राजमार्ग बिस्तार गर्ने क्रममा कल्भर्टको दुवै तर्फ सडक चौडा गरिएको भए पनि निर्माण गरिएको कल्भर्टको दुवैपट्टि भरान गर्ने काम अधुरो छोडिदा कल्भर्ट सञ्चालनमा आउन सकेको छैन ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले २०७९ सालमा अत्तरिया बजारको पूर्व रोड, पहाड रोड र महेन्द्रनगर रोडमा रहेका कल्भर्ट चौडा गर्न चन्द ग्रुप सप्लायर्स सँग करिब डेढ करोडमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार तीन वटै कल्भर्ट निर्माण गरिएका भए पनि पूर्व रोडमा निर्माण गरिएको कल्भर्टको दायाँ बायाँ भरान नगरिँदा प्रयोग विहीन बनेको छ । सडक डिभिजन कार्यालयले पुरानो कल्भर्ट रहेकै ठाउँमा दुवै तर्फ ४–४ मिटर कल्भर्ट थप गरेको थियो । सो क्षेत्रमा सडक र कल्भर्ट चौडा भए पनि भरान नगरिँदा निर्माण गरिएको कल्भर्ट पनि प्रयोगमा नआउँदा दुर्घटनाको जोखिम बढेको छ ।


बजार क्षेत्रमै पर्ने कल्भर्ट सँग जोडिएको सडक चौडा हुँदा पनि निर्माण भएको कल्भर्ट अलपत्र छाडिदा दुर्घटनाको जोखिम बढेको स्थानीय जयन्ती बिकले बताइन् । उनले कल्भर्ट भएको ठाउँमा भरान गर्न बेवास्ता गरिदा दुर्घटनाको जोखिम बढेको बताइन् । ‘सडक साँघुरो भयो भनेर कल्भर्ट बनाइएको होला जस्तो लागेको थियो । तर, यो त हेर्नका लागि मात्रै बनाएको जस्तो भयो’ उनले भनिन् ‘कल्भर्ट बनाएर झन् सडक अस्तव्यस्त पार्ने काम भयो । कम्तीमा दुवै तर्फ माटो भरान गरेर सञ्चालनमा ल्याइदिए हुन्थ्यो ।’
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिस प्रसाद जोशीले भने पछिल्लो अवस्थाका बारेमा अपडेट नभएकाले के कारणले सञ्चालनमा नआएको हो भन्ने बारेमा बुझेर मात्रै भन्न सकिने बताए । पूर्वपश्चिम राजमार्ग अत्तरिया बुटवल देखि पूर्वी भागमा सडक चौडा गर्ने काम भए पनि त्यसयता भने २ लेनको मात्रै सडक रहेको छ । हाल कञ्चनपुरको गड्डाचौकी देखि चिसापानी सम्म ४ लेनमा सडक विस्तार योजना अघि सारिएको नेताहरूले बताउने गरेका भए पनि कहिलेदेखि काम सुरु हुने भन्ने बारेमा अनविज्ञता रहेका छ ।
४ लेन सडक विस्तार गर्ने योजना अन्तरगत हाल सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठाउँ ठाउँमा कल्भर्ट निर्माण भने गरिरहेको जनाएको छ । पछिल्लो समय सवारी चाप बढेको भए पनि राजमार्ग साँघुरो हुँदा यात्रा गर्न निकै बढी समय लाग्ने गरेको छ । सडकका खाल्डा टालटुल मात्रै गरिँदै आएकाले सडकको सतह नमिलेका कारण कच्ची सडकमा यात्रा गरे सरह गाडीहरू उफ्रिने गरेका छन् ।
