दार्चुला – नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले एकलौटी तटबन्ध निर्माण रोक्नका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन ।

संसदको सोमबार बसेको बैठकमा बोल्दै बडूले सीमा क्षेत्रमा संरचना निर्माण गर्दा दुबैपक्षको सहमति हुनुपर्नेमा भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै भारतको ध्यानाकर्षण गराएका हुन ।

‘अन्तर्राष्ट्रिय कानुनको मान्यता अनुसार सीमा क्षेत्रमा संरचना निर्माण गर्दा दुबैपक्षको सहमति हुनुपर्नेमा भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गरिरहेको छ । भारतले द्रुत गतिमा निर्माण अघि बढाइरहेको छ’ उनले भने ‘यसलाई तत्काल रोक्न म परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, भूमी व्यवस्था मन्त्रालय र ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराउँछु,।’ विवादित ठाउँको निर्माण कार्य स्थगन गर्न उनले माग गरे ।