कञ्चनपुर – नेकपा माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको तरार्ई मधेस जागरण अभियान कञ्चनपुरमा पुगेर सम्पन्न भएको छ ।
बुधबार कञ्चनपुरको महेन्द्रनगरमा समापन समारोहको आयोजना गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनता सँग माओवादी हुलाकी सडक केन्द्रित (मेचि–महाकाली) जागरण अभियानको समापन गरेका हुन ।


समापन कार्यक्रममा बोल्दै उनले अभियानले पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्न सहयोग पुग्नुका साथै समसामयिक राष्ट्रिय मुद्दाहरूमा जनस्तरको धारणा बुझ्न समेत महत्वपूर्ण योगदान पु¥याएको बताए ।
अभियान अन्तर्गत करिब एक करोड नागरिकसँग प्रत्यक्ष संवाद गरिएको दाबी गर्दै उनले हुलाकी राजमार्ग केन्द्रित उक्त अभियानबाट पार्टी र जनताबीचको सम्बन्धलाई अझ सशक्त बनेको बताए । उनले देशको स्वाधीनता, अखण्डता तथा सीमा सुरक्षाका सवालमा समेत अभियान प्रभावकारी भएको बताए ।
हुलाकी सडकखण्ड हुँदै गरिएको अभियानले सीमावर्ती क्षेत्रका समस्या, सीमान्तीकृत समुदाय, शहीद तथा बेपत्ता परिवार, किसान, विपन्न वर्गदेखि उद्योगी–व्यवसायीका पीडा बुझ्ने अवसर दिएको प्रचण्डले बताए । यी सन्देशलाई पार्टीको भावी योजनामा समेटिने उनले बताए ।
