अत्तरिया – उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले घुस डिल गरेको अडियोको छानबिन नभएपछि विरोध चर्किएको छ । मुख्यमन्त्रीलाई नै मुछेर गरिएको घुस डिलको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले राजीनामा दिए पनि छानबिन भने गरिएको छैन ।
मन्त्री चौधरीले शनिवार पत्रकार सम्मेलन मार्फत राजीनामा दिदैं सजाय भोग्न तयार रहेको बताए पनि राजीनामा दिएको २ दिन बितिसक्दा पनि सरकारले कुनै छानबिन अगाडि बढाएको छैन । अडियो सार्वजनिक भए पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले तत्काल राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिए पनि आफ्नै नाम मुछिएको अडियोको बारेमा कुनै छानबिन प्रक्रिया अगाडि बढाएका छैनन् ।

अडियोमा मन्त्री चौधरीले दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आइतबार पारित गर्ने, २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएका छन् । आर्थिक लेनदेन सम्बन्धी गरिएको अडियो सार्वजनिक हुँदा पनि छानबिन प्रक्रिया अगाडि नबढेपछि आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दलहरूले राजीनामा दिएका मन्त्री चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने लगायतका माग राख्दै बैठक अवरुद्ध गरेका छन् ।

आइतबार प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले प्रदेशसभा बैठकमा विरोध गर्दै मुख्यमन्त्री शाहको नैतिकतामाथि प्रश्न समेत उठाएका थिए । ‘वनमन्त्रीज्यूले त नैतिकताका आधारमा राजीनामा दिनुभयो, उहाँलाई धन्यवाद छ,’ राप्रपाका प्रदेशसभा सदस्य खेमादेवी बिष्टले भनिन्, ‘मन्त्रीज्यूले मात्रै राजीनामा दिएर यो कुरा टुङ्गिन्छ होला त ? यसमा मुख्यमन्त्रीज्यू पनि जोडिनु भएको छ । मुख्यमन्त्रीको पार्टीलाई पनि मिलाउनपर्छ भन्ने कुरा जोडिएको छ । मन्त्रीज्यूले त नैतिकताका आधारमा राजीनामा दिनुभयो । मुख्यमन्त्रीज्यूले नैतिकताका आधारमा के गर्नुहुन्छ ? सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु ।’ उनले अडियो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गरिन् ।
घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनी आबद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक छलफलमा जुटेको छ । छलफलका लागि अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी छन् । चौधरीमाथि पार्टीले कस्तो खालको कारबाही गर्ने भन्ने विषयमा छलफल भएपनि के कारबाही गर्ने भन्ने निष्कर्ष भने पुग्न नसकेको पार्टीका नेता रामलाल थारु डगौराले बताए। उनले राजीनामा दिएका मन्त्रीको ठाउँँमा सरकारमा कसलाई पठाउने भन्ने जिम्मेवारी पनि पार्टी अध्यक्ष रञ्जितालाई दिईएको बताए ।
यसैबिच घुस डिल गरेको अडियो सार्वजनिक भएपछि क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेश समितिले राजीनामा दिएका मन्त्री लक्ष्मण चौधरीमाथि छानबिन गर्न माग गरेको छ । संगठन आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कमिसन लेनदेन अडियोको विषयमा छानबिन गर्न माग गरेको हो । इन्चार्ज दीपक ऐरको हस्ताक्षर रहेको विज्ञप्तिमा अडियो क्लिपको विषयलाई सुदूरपश्चिम सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरी दोषी मन्त्रीलाई तत्काल कानुनी कारबाही गर्न माग गरिएको छ ।
‘सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी को कमिसन लेनदेन अडियोको विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘भ्रष्ट मन्त्री चौधरीले गरेको कमिसन लेनदेनको गोप्य अडियो क्लिपको विषयलाई सुदूरपश्चिम सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरी दोषी मन्त्रीलाई तत्काल कानुनी कारबाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।’
माग सम्बोधन नगरिए संघर्षका कार्यक्रम गरिने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘हाम्रो मागलाई सम्बन्धित निकायहरूले बेवास्ता गरे हाम्रो संगठनले कमिसनखोरहरुका विरुद्ध जस्तोसुकै संघर्ष गर्न पछि नहट्ने कुरा यसै वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौँ ।’
















