काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारी निर्णयको खुला रूपमा विरोध गरेका छन्। उनीहरूले आज सामाजिक सञ्जालमार्फत् कुलमानको बाँकी पदावधि काम गर्न दिनुपर्ने र निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन्।

विश्वप्रकाश शर्माले सरकारको यो निर्णयलाई समयोचित नभएको र यसले राम्रो प्रयासलाई छायामा पार्ने बताएका छन्। उनले पार्टी पदाधिकारी तहले कुलमानलाई पदबाट हटाउन सहमति नदिएको उल्लेख गर्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

त्यस्तै, गगन थापाले आम नागरिकमा असन्तुष्टि बढ्दै गएको र सरकारले त्यो असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो उल्टो बाटो लिँदै गरेको आरोप लगाएका छन्। उनले सरकारको निर्णयलाई ‘गलत’ भन्दै प्रधानमन्त्रीलाई सही निर्णय गर्न आग्रह गरेका छन्।