काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग भारतसँगको कुटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेका कारण समस्या समाधान गर्न नसकेको बताए । उनले सन् १९६२ अघि नेपालका नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएका थिए, त्यसपछि बीचमा यी भूभाग कसरी हटे ? भन्ने प्रश्न उठाए ।

प्रधानमन्त्री ओलीले थपे, ‘भारतसम्बन्धी सीमा विवाद कसैलाई समस्या नहुने गरी समस्याको सधैंको लागि समाधान गर्न कुटनीतिक संवाद र वार्ता गर्नुपर्ने हो ।’ उनले भने सन् १९६२ अघि हाम्रो नक्सा पनि सोहि अनुसार रहेको बताउँदै उक्त भूभाग नेपालकै अधिनमा रहेको बताए । उनले भने, ‘अहिले जस्तो नक्सा पहिले पनि त्यस्तै थियो । त्यसपछि नेपालको नक्सा किन फेरियो, कसले फेर्यो ? यसको उत्तर सबैलाई थाहा छ । यो समस्या कुटनीतिक वार्ताको माध्यमबाट समाधान गरिन्छ ।’

द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र सन्धी–सम्झौतासम्मका विषयमा सिफारिस गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको सहमतिमा ईपीजी गठन भएको उनले जानकारी दिए । यद्यपि, ईपीजीले ९ वटा बैठक बसेर सन् १९५० को नेपाल–भारत सन्धी परिमार्जन सहितका महत्वपूर्ण बुँदामा सहमति जुटाए पनि ६ वर्ष बितिसक्दा पनि भारतीय पक्षले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको उनको भनाइ छ ।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले उक्त नक्सा स्वीकारेको छैन ।