दार्चुला — जिल्लाका त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका ५ वटै क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विद्यार्थी संगठनहरूबीच भागबन्डा गरी नेतृत्व चयन भएको छ। यसअघि सहमतिमै उम्मेदवारी दर्ता भएको र सोहीअनुसार मंगलबार समितिहरू चयन भएको हो।

नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच सहमतिमा जिल्लाका सबै क्याम्पसमा नेतृत्व चयन भएको हो। नेविसंघले दुई, अनेरास्ववियुले दुई र अखिल क्रान्तिकारीले एक क्याम्पसको नेतृत्व पाएका छन्।

ब्यास गाउँपालिकाको अपीनाम्पा क्याम्पस हुतीमा नेविसंघका शेखर बम स्ववियु अध्यक्ष चयन भएका छन् भने राष्ट्रिय क्याम्पस दत्तुमा नेविसंघकी लिलु भट्ट अध्यक्ष बनेकी छन्। लटिनाथ क्याम्पस मार्मामा अनेरास्ववियुका रुकेश विष्ट र कृष्ण स्नातक क्याम्पस लालीमा अनेरास्ववियुकै ओमकार पाल अध्यक्ष चुनिएका छन्। अखिल क्रान्तिकारीले शंकरपुर क्याम्पस पस्तीमा स्ववियुको अध्यक्ष पद हासिल गरेको छ।
स्ववियुका पदाधिकारी र सदस्यहरूमा तीनवटै संगठनलाई समेटेर समिति गठन गरिएको छ। नेविसंघ दार्चुलाका कार्यवाहक सभापति दीपक खातीका अनुसार सहमतिकै आधारमा सबै क्याम्पसहरूमा पूर्ण समिति गठन गरिएको हो।



















