टीकापुर – कैलालीको टीकापुर विमानस्थलमा तारा एअरले सातामा एक दिन मात्रै उडाने भर्ने भएको छ । सातामा तीनवटा सम्म हुँदै गर्दै आएको तारा एयरले फ्लाईट संख्या साताको एकदिन मात्रै हुने जनाएको छ । तारा एयरले नगरपालिकालाई पठाएको पत्रमा सातामा सोमवारका दिन मात्रै जहाज उडान हुने उल्लेख गरेको छ ।

उसले नगरपालिका र तारा एअरबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नं. १ अनुसार मार्च महिनादेखि जहाज नेपालगञ्ज बेस नहुने भएकाले फ्लाईट संख्या घटाईएको बताएको छ ।

पत्रमा उल्लेख भए अनुसार यो कुरा तारा एअरले २०८१ फागुन २६ गतेदेखी लागु गर्नेछ । पत्रमा नेपालगञ्ज–टीकापुर–नेपालगञ्ज मात्रै उडान सञ्चालन गरिने व्यहोरा सबैमा जानकारीका लागि नगरपालिकालाई अनुरोध गरिएको छ ।
तारा एअरले २०८१ मंसिर ३० गतेबाट व्यवशायिक उडान सुरु गरेको थियो । त्यसअघि २०८१ कात्तिक १२ गते नेपाल वायुसेवा निगमको जहाजले विमानस्थलमा परिक्षण उडान भरेको थियो । टीकापुर नगरपालिकाले १५ सिटको ग्यारेन्टी गरेपछि तारा एअरले बन्द अवस्थामा रहेको विमानस्थलमा व्यवशायिक उडान सुरु गरेको थियो ।
















