काठमाण्डौं – बझाङ र डोटीका भूकम्प पीडित परिवारको क्षति आङ्कलन गरिने भएको छ । यी क्षेत्रमा भूकम्प गएको लामो समय पछि बल्ल क्षति आङ्कलन गर्ने निर्णय गरिएको हो । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बिहीबार सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकले बझाङ, डोटी सहित जाजरकोटमा भूकम्पपछिको क्षति आङ्कलन, पुनर्निर्माण र पुनस्र्थापनालाई तीव्रता दिने निर्णय गरेको छ ।
डोटीमा २०७९ कात्तिक, बझाङमा २०८० असोज र जाजरकोटमा २०८० कार्तिकमा भूकम्प गएको थियो । भूकम्प गएको लामो समय बितिसक्दा पनि यी क्षेत्रमा अहिले सम्म भूकम्पको क्षति आङ्कलन समेत गरिएको छैन ।


बिहीबार गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकले बझाङ र डोटी र जाजरकोटमा भूकम्पपछिको क्षति आङ्कलन, पुनर्निर्माण र पुनस्र्थापनालाई तीव्रता दिने निर्णय गरेको छ ।
गृहमन्त्री लेखकले भूकम्पपछिको पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी रहेको बताए ।
उनले आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने बताए ।
‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आङ्कलन र निजी घरहरूको पुनर्निर्माण एवं पुनस्र्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ’, गृहमन्त्री लेखकले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आङ्कलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनस्र्थापनाको काम अगाडि बढाउँछौँ ।’















