धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीका सुदूरपश्चिमका नेताहरू सँग छलफल गरेका छन् । लामो समयदेखि संसदीय दलको नेताको विवाद टुङ्ग्याउन बुधवार खुमलटारमा छलफल भएको हो ।

बुधवार तराई–मधेस जागरण अभियानअन्तर्गत विराटनगरमा रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफलका लागि काठमाडौँ गएका थिए । सुदूरपश्चिमका सांसद अक्कलबहादुर रावलले छलफल सकारात्मक भएको र, अध्यक्षले सहमतिबाट समस्या समाधान गर्न भनेको बताए । उनले छलफल सकारात्मक रहेपछि टुङ्गोमा भने नपुगेको बताए ।

सुदूरपश्चिममा माओवादी केन्द्रको संसदीय दलको नेताको विवाद एक वर्ष देखि कायमै रहेको छ । २०८० माघ १२ गते संसदीय दलको नेताबाट खसराज भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरिएपछि विवाद उत्कर्षमा पुगेको थियो ।
त्यसपछि पटक पटक विवाद समाधानका लागि पार्टी अध्यक्ष प्रचण्डले नै अग्रसरता लिए पनि अझै समस्या समाधान हुन सकेको छैन । जसले गर्दा अहिले माओवादी भित्र शक्तिशाली मानिएका नेता खगराज भट्ट भूमिका विहीन बन्न पुगेका छन् ।
यसबिच प्रचण्डले पटक पटक भट्टलाई नै संसदीय दलको नेता बनाउन निर्देशन दिँदै आएका भए पनि निर्देशन कार्यान्वयन हुन सकेको छैन । संसदीय दलका नेता धामीले केन्द्रको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने अडान राख्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११ जना सांसद छन् । प्रचण्ड सँगको छलफलका लागि सभामुख बाहेकका १० जना सांसद काठमाडौँ पुगेका थिए ।


















