खाेज्नुहाेस

जरा अभियान प्रभावकारी बनाउन एमाले सचिव भट्टको निर्देशन

Image

धनगढी – नेकपा (एमाले) मा केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले जरा अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पार्टी सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा बुधवार देखि धनगढीमा सुरु भएको प्रचारसम्बन्धी दुई दिने कार्यशाला कार्यक्रमको उद्घाटन गर्दै भट्टले वडा केन्द्रित जरा अभियान प्रभावकारी बनाउन एमाले नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन ।

उनले अभियान अन्तरगत एमाले नेता, कार्यकर्तालाई घर घर पुग्न आग्रह गरे । ‘कहाँ के भइरहेको छ, त्यसको रिपोर्टिङ छैन’, सचिव भट्टले भने, ‘जनताको बिचमा एकाकार हुनुस् अनि मात्र चुनावी परिणाम राम्रो आउँछ ।’ उनले औपचारिकताका लागि मात्रै नभई उपलब्धि आउने गरी कार्यक्रम गर्न आग्रह गरे ।

attariya hospital
navjiwan hospital

सचिव भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताए । ‘सामान्य व्यक्ति वा सगंठन प्रति कसैको चासो हुँदैन’ उनले भने ‘एमाले सबैभन्दा ठुलो सगंठन, व्यवस्थित एवं चलायमान भएकै कारण हाम्रो पार्टीलाई कसरी पछाडि पार्न सकिन्छ भनेर आक्रमण बढेको छ, तथ्यमा टेकेर भन्दा पनि मिथ्या आरोप एमाले नेतृत्वमाथि बढिरहेको छ, यसको प्रतिकार सबै नेता कार्यकर्ताले गर्न जरुरी छ ।’

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाली बजारमा नेकपा (एमाले) र सिङ्गो नेतृत्वविरुद्ध सोसल मिडियाको प्लेटफर्ममार्फत प्रहार भइरहेको बताए । उनले मिथ्या सूचना, गलत सूचना, तथ्यहीन सूचना प्रयोग गरेर एमाले पार्टी र सिङ्गो नेतृत्वविरुद्ध भइरहेको प्रहारको प्रतिवाद गर्ने सम्बन्धमा कार्यशालामा गहन छलफल हुने बताए ।

उनले भने, ‘काठमाडौँका प्रमुख बालेन एक्लै सामाजिक सञ्जालमार्फत एमाले र एमालेका नेतृत्वविरुद्ध प्रयोग भएका छन् । रवि लामिछानेका समर्थक र माओवादीबाट पनि त्यस्तै छ ।’ एमाले पार्टी र नेतृत्वविरुद्ध निरन्तर प्रहार भइरहँदा पनि नेतृत्वले यसबारे नबोल्नु आश्चर्यको विषय रहेको गौतमको भनाइ थियो । कार्यशालामा नौ वटै जिल्लाका एमाले नेता, कार्यकर्ता लगायतको प्रतिनिधिमूलक सहभागिता रहेको छ ।