कैलाली – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताएका छन्। टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा उनले टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विद्यालयको विकासमा सबैले सहकार्य गर्नुपर्ने उनको धारणा थियो।

‘विद्यार्थीलाई सीपयुक्त बनाउन विद्यालयले ध्यान दिनु आवश्यक छ,’ उनले भने। सिंहले टीकापुरलाई ‘स्मार्ट सिटी’को रूपमा विकास गर्न शिक्षालाई मुख्य आधार बनाउनुपर्ने बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी गरिरहेको जानकारी दिए।
वीरेन्द्र विद्या मन्दिरका प्रमुख रामलाल डगौरा थारुले विद्यालय सार्वजनिक शैक्षिक गुठी भए पनि नगरले हरेक कार्यमा सघाएको बताए। कार्यक्रममा उच्च ओहोदामा पुगेका तथा उत्कृष्ट प्रदर्शन गरेका पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो।



















