धनगढी – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट तीनपटक संघमा निर्वाचन लडे । डडेल्धुराबाट दुईपटक संविधानसभा र एकपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए भट्ट । तर, उनको संघमा जाने इच्छा कहिल्यै पूरा भएन । प्रत्येकचोटि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको सपना चकनाचुर पारे ।
पहिलो संविधानसभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतान्तरले पराजित भएका भट्ट दोस्रो संविधानसभा निर्वाचनमा झन् ठूलो मतान्तरले पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन हुँदासमेत उनले देउवाको विजयी यात्रालाई रोक्न सकेनन् । ६,९२९ मत अन्तरले पराजित भएपछि भट्टको संघीय राजनीतिमा यात्रा स्थगित हुन पुग्यो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–माओवादीबीच गठबन्धन भएपछि भट्टलाई संघीय राजनीति छोडेर प्रदेशसभा चुनाव लड्न आग्रह गरियो । प्रचण्ड र देउवाले उनलाई मुख्यमन्त्री बनाउने आश्वासन दिए । कांग्रेस सभापति देउवाले चुनावी सभामा नै भट्टलाई ‘भविष्यका मुख्यमन्त्री’ को रूपमा प्रस्तुत गरे ।
भट्ट प्रदेशसभा सदस्यमा निर्वाचित भए र माओवादी संसदीय दलको नेता पनि बने । तर, चुनाव सकिएपछि राजनीतिक समीकरण फेरियो । कांग्रेस–माओवादी गठबन्धन टुट्यो, माओवादी–एमाले गठबन्धन बन्यो । त्यसअनुसार सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बने ।
भट्टलाई सरकारमा समेटिए पनि उनले बिना विभागीय मन्त्रीको मात्रै जिम्मेवारी पाए । केही समयमै फेरि केन्द्रमा समीकरण फेरियो, कांग्रेस र माओवादी पुनः मिले । एमाले नेतृत्वको सरकार संकटमा प¥यो, रावलले विश्वासको मत नपाउने भएपछि राजीनामा दिए । भट्टको मन्त्री पद पनि गुम्यो ।


संसदीय दलमै असन्तुष्टि
बिना विभागीय मन्त्री बनेको भन्दै माओवादी संसदीय दलमै असन्तुष्टि बढ्यो । पार्टीका बहुमत प्रदेशसभा सदस्यले १२ माघ २०८० मा भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई नयाँ नेता चयन गरे ।

त्यसपछि भट्टले सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी पनि गुमाए । लेखराज भट्ट एमालेमा गएपछि माओवादीको सबैभन्दा वरिष्ठ नेता बनेका खगराजलाई अहिले सहइन्चार्ज बनाइएको छ । तर, उनले उक्त पद स्वीकार गरेका छैनन् ।
मुख्यमन्त्री भन्थे, बिना विभागीय जागिर गयो
डडेल्धुरामा आयोजित कार्यक्रममा बोल्दै निरासा व्यक्त गरेका छन । मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभा चुनाव लडेको बताउँदै उनले बिना विभागीय मन्त्रीमा जागिर सकिएको बताए । ‘म त प्रदेशमा माननीय मात्रै हुन्छु भन्ने थाहा पाएको भए चुनाव लड्ने थिइनँ । देउवा र प्रचण्डले जितेपछि मुख्यमन्त्री बनाउने भनेका थिए, त्यसैले चुनाव लडेँ ।’
उनले माओवादी–कांग्रेस गठबन्धन छिट्टै टुट्दा आफ्नो सपना अधुरै भएको गुनासो गरे । ‘म त मुख्यमन्त्री भनेर गएको मान्छे हुँ, बिना विभागीय मन्त्रीमा जागिर सकियो । पालै आएन त्यसपछि । अब के गर्ने ?’ उनको भनाइ थियो ।