धनगढी – सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको चार संसदीय समितिका सभापतिको उम्मेदवारी उपर दाबी विरोध नपरेको जनाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक आज तोकिएको दाबी विरोधको समयमा कसैको दाबी विरोध परेको छैन ।

दाबी विरोध नपर्दा चार संसदीय समितिमा उम्मेदवारी दिएका चारै जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार शनिवार सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले) का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसका तुलसी देवकोटाको एकल उम्मेदवारी परेको थियो ।

उम्मेदवारीउपर दाबी विरोध नपरेपछि उनीहरू स्वतः निर्वाचित भएका छन् । यसको आधिकारिक घोषणा केही बेरमा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।