धनगढी– सुदूरपश्चिममा संसदीय समितिका सभापतिको चुनाव भोलि (आईतबार) हुने भएको छ । प्रदेश सभा सचिवालयले निर्वाचन घोषणा गरेअनुसार सभापतिको चयनका लागि आईतबार निर्वाचन हुने भएको हो ।
निर्वाचनको चुनावी प्रकृया आज (शनिबार) बाट सुरु हुने प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।


सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज (शनिबार) मतदाता प्रदेश सभा सदस्यहरूको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताको तालिका रहेको छ । यसै गरी, फागुन ४ गते प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ ।
यसै गरी, विशेषाधिकार समितिको निर्वाचनको मत परिणाम घोषणाका लागि समितिको बैठक फागुन ४ गते दिनको २ः३० बजेटबाट सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि, सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक सभापतिको निर्वाचन तय गरेका थिए । तर, विशेषाधिकार समितिको सभापतिको निर्वाचन छुटेपछि नेपाली काँग्रेसको आग्रहमा निर्वाचन स्थगित गरिएको थियो । यस पटक विशेषाधिकार समितिका सभापतिको निर्वाचन पनि समेटिएको छ ।
