कैलाली – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिसापानीदेखि गड्डाचौकीसम्मको पूर्वपश्चिम महेन्द्र राजमार्गलाई ६ लेनको बनाउने तयारी भइरहेको बताएकी छिन ।

सोमबार कैलालीको लम्कीचुहा नगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै मन्त्री देउवाले सडक विस्तारका लागि प्रारम्भिक सर्वेक्षण भइरहेको बताइन् । उनका अनुसार, सवारी चापलाई ध्यानमा राखी राजमार्गलाई फराकिलो बनाउने योजना अघि सारिएको छ ।

‘सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा ६ लेनको सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । छिट्टै काम सुरु हुनेछ’ मन्त्री देउवाले भनिन ।
उनले लम्कीचुहा नगरपालिकाको नयाँ प्रशासकीय भवनले स्थानीयवासीलाई सेवा लिन सहज बनाउने विश्वास व्यक्त गरिन् । कृषि क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले स्थानीयस्तरका विकास निर्माणका कार्यले आफूलाई उत्साहित बनाएको उल्लेख गरिन् ।



















