धनगढी – कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले थारु समुदायको हकहित संरक्षण गर्न नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको बताएकी छिन ।

नेपाली काँग्रेसको थारु विभाग तथा नेपाल थारु संघले कैलालीको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेलामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले थारु समुदायको हकहितमा लड्ने पार्टि नेपाली कांग्रेस रहेको बताइन्। उनले २०५८ सालमा कांग्रेसले थारु कमलरीमुक्त घोषणा गरेको समेत स्मरण गराइन्। उनले भनिन्‚ ‘नेपाली काँग्रेस सधै थारु समुदायको अधिकार स्थापित गर्न लागिरहेको छ, यो तपाईहरु नेपाली काँग्रेसले थारु समुदायका लागि गरिरहेको कामबाट पनि थाह पाउनुहुन्छ।’

कार्यक्रममा थारु समुदायको राजनीतिक सशक्तीकरण, अधिकार सुनिश्चितता, र समृद्धिको विषयमा केन्द्रित रहेर छलफल भएको थियो। थारु विभागका नेताहरूले समावेशिता, शिक्षा, रोजगारी, र राजनीतिक सहभागिताका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आगामी दिनमा थप सक्रिय भूमिकाका लागि माग गरे। भेलामा थारु समुदायको आर्थिक तथा सामाजिक विकासका लागि योजनाबद्ध रणनीति निर्माण गर्ने विषयमा छलफल गरिएको थियो।
नेपाल थारु संघ कैलालीका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल थारु संघका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, स्थानीय नेताहरू, बुद्धिजीवी, तथा थारु समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भेलाले विभिन्न प्रस्ताव पारित गर्दै आगामी दिनमा थारु समुदायको शसक्तिकरणका लागि प्रभावकारी नीति तथा कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको छ।



















