धनगढी – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आगामी निर्वाचन सम्म आफ्नो पार्टी प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन । प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले ०८४ को निर्वाचनसम्म माओवादी प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने स्पष्ट पारेका हुन ।

उनले कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाएकोले आफूहरु प्रतिपक्षमै बस्ने बताए । सो क्रममा बोल्दै उनले एमालेसँगको सहकार्यको पनि अब सम्भावना समाप्त भएको स्पष्ट पारे ।

उनले भने, ‘हामीले वामपन्थी मिल्नुुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ, २०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुईपटक धोका दिइसक्नुुभएको छ । उहाँबाट तेस्रोपटक धोका खाने पक्षमा छैनौँ ।’
सो क्रममा उनले माओवादीले अब आगामी निर्वाचन आफ्नै बुतामा लड्ने र कसैसँगपनि गठबन्धन नगर्ने घोषणा गरे ।



















