अत्तरिया – नेकपा एमालेले पार्टीबाट निष्कासन गरेपछि एमालेका पूर्व उपाध्यक्ष समेत रहेका भीम रावलले पुस १७ गते मातृभूमि जागरण अभियान घोषणा गरेका थिए । उनले अभियान घोषणाका क्रममा एमाले पार्टी र त्यसका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरे । शनिवार रावलकै शैलीमा पूर्व सामाजिक विकास मन्त्री तथा एमालेका प्रदेश कमिटी सदस्य कृष्ण राज सुवेदी पनि एमालेको आलोचना गर्दै मातृभूमि जागरण अभियानमा जोडिएका छन् । करिब ७ मिनेट एमालेको आलोचनामा खर्चिएका उनले अन्त्यमा एमालेको औचित्यमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गर्न अपिल समेत गरे । ‘अब नेकपा एमाले जनताको बहुदलीय जनवाद र यसको स्कुलिङले भनेका कुरा व्यवहारमा लागू नगर्ने हो भने यसको औचित्य माथि प्रश्न उठाउने बेला भएन र ?’ उनले प्रश्न गरे ‘अध्यक्ष कमरेड, पार्टीबाट असल र इमानदार गलहत्त्याउने, भएभरका दलाल पुजीपतिहरुको पक्षपोषण गर्ने हो भने, उत्पीडित नेपाली जनतालाई देखाइएका उज्याला सपनाहरूमा ग्रहण लाग्ने निश्चित छ ।’
उनले आफू भीम रावलको अभियानमा जोडिएको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा आफू सँगै ३५८ जना जोडिएको बताए । जसमा उनकै छोरा एवम् जिल्ला कमिटी सदस्य तथा गोदावरी नगर इन्चार्ज भीष्म राज सुवेदी, नगर कमिटी सदस्य मनोज सुवेदी, वेद प्रकाश सुवेदी, पूर्व वडा कमिटी अध्यक्ष खगेन्द्र बहादुर साउँद, पूर्व नगर कमिटी सदस्य रिता चौधरी लगायतका रहेका छन् । उनीहरू गोदावरी र गौरिगंगा नगरपालिकाका करिब ढाइ सय सङ्गठित सदस्य र बाकी एमालेका शुभचिन्तकहरू रहेको बताइएको छ ।


पूर्व मन्त्री सुवेदीले यसअघि सम्म एमालेमै रहेको भए पनि पार्टीले आफू र आफ्ना छोरालाई कारबाही गरेपछि अभियानमा जोडिएको बताए । पार्टी छोडेर अभियानमा जोडिएको घोषणा गर्ने क्रममा सुवेदीले विगत नेकपा विभाजन भएदेखि नै आफू पेलानमा परेको पनि खुलाए । उनले नेकपा फुटदेखि नै पार्टीले आफूलाई भूमिका विहीन बनाउँदै लगेको बताए ।
‘नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा विभाजन पछि पार्टी चरम गुटबन्दीको सिकार बन्दै गयो । पछिल्लो समय नेकपा एमालेबाट अलगिएर नेकपा एकीकृत समाजवादी बन्यो । त्यस क्रममा समाजवादी रोजे मन्त्री पदको निरन्तरता हुने प्रस्ताव आए पनि म एमालेमै रहिरहे’ उनले भने ‘के यसरी एमालेमै बसिरहनु मेरो गल्ती थियो । तर, त्यसपछिका दिनहरूमा मलाई पार्टीले भूमिका विहीन बनाउँदै लग्यो । तर, पनि म अविचलित रूपमा पार्टीको काममा लागिरहे ।’
विगत ३ दशक देखि पार्टीमा सक्रिय रहेका सुवेदीले गोदावरी क्षेत्रमा पार्टी बनाउन आफूले ठुलो भूमिका खेलेको बताए । उनले भीम रावललाई भेटेकै आरोपमा स्पष्टीकरण पनि नसोधी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न एमाले जिल्ला सचिवालय बैठकले केन्द्रीय कमिटीमा सिफारिस गरेको बताए ।
‘मैले माघ ४ गते धनगढी विमानस्थलमा भीम रावललाई भेट्नु नै म कारबाहीमा पर्नुको एक मात्रै कारणको रूपमा जनाइएको छ’ उनले भने ‘मलाई कुनै स्पष्टीकरण पनि सोधिएको छैन । कारबाहीको जानकारी पनि दिइएको छैन ।’ उनले पार्टीले गरेको कारबाहीको भत्र्सना समेत गरेका छन् । ‘पार्टी सञ्चालनको बागडोर सम्हालेकाहरूबाट गरिएको गैर जिम्मेवार, निरङ्कुश, तानासाही निर्णयको जति भत्र्सना गरे पनि कम हुन्छ’ उनले भने ‘म यस्तो निर्णयको घोर निन्दा र भत्र्सना गर्दछु ।’



















