खाेज्नुहाेस

दार्चुलाका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुखलाई अन्य दुई जिल्लाको पनि जिम्मेवारी थप

Image

बैतडी– दार्चुलाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुखलाई अन्य दुई जिल्लाको शहरी विकास तथा भवन कार्यालयको पनि जिम्मेवारी थपिएको छ । दार्चुला कार्यालयका प्रमुख गोबिन्द देवकोटालाई बैतडी र बझाङ जिल्लाको शहरी विकास तथा भवन कार्यालयको पनि जिम्मेवारी थपिएको हो ।

दिनभरि एक जिल्लाको काम सकेर राति हिँडेर बिहान अर्को जिल्ला पुग्नुपर्ने बाध्यता देवकोटालाई आइलागेको छ । बैतडीबाट बझाङ पुग्न गाडीमा एक दिन लाग्छ । बझाङमा एक दिन बसेर उनी भोलिपल्ट दार्चुलाको मालिकार्जुनस्थित तीन करोड रुपैयाँको लिफ्ट खानेपानी योजनाको काम हेर्छन् ।

attariya hospital
navjiwan hospital

त्यहाँका योजना हेरेर खानेपानी र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्छ । बैतडी र दार्चुलामा मात्रै खानेपानीका ३४९ वटा योजना छन् । खानेपानीका क्रमागत योजनासमेत जोड्ने हो भने बैतडीमा १२१ र दार्चुलामा ६० वटा पुराना योजना छन् । दुई जिल्लाका खानेपानी योजना हेर्ने उनी एक जना मात्रै इन्जिनियर हुन् ।

गाउँबस्तीमा आधारभूत खानेपानी पु-याउन सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष बैतडी र दार्चुलाका लागि ४७ करोड रुपैयाँ बजेट पठाएको देवकोटाले बताए । खानेपानी कार्यालयमा जनशक्ति नहुँदा करारका एकसब इन्जिनियर नियुक्त गरी काम गर्नुपरेको उनले सुनाए । उनका अनुसार दुई जिल्ला हेर्ने खानेपानी तथा सरसफाइ डिभिजनमा एक जना डिई, तीन जना इन्जिनियर, चार सब इन्जिनियर र चार खानेपानी प्राविधिकको दरबन्दी भए पनि दरबन्दी अनुसारको जनशक्ति छैनन् ।

प्रदेश सरकारले देवकोटालाई शहरी विकास तथा भवन कार्यालय प्रमुखको जिम्मेवारी दिएपछि उनले बैतडी र बझाङ जिल्लाका ४८ वटा शहरी योजनाको समेत काम गर्दै आएका छन् । कार्यालयले सरकारी भवन, शहरी सडक, नाला निर्माण जस्ता योजनाको काम गर्दै आएको छ । बैतडी र बझाङ हेर्ने भवन कार्यालयमा पनि एक जना डिभिजनल इन्जिनियर, तीन जना इन्जिनियरको दरबन्दी भए पनि सबै रिक्त छन् । भवनमा तीन जना ओभरसियर भएकाले केही सहज भएको देवकोटाले बताए ।