अत्तरिया – सोमबार प्रदेशसभा स्थापना भएको ७ वर्ष पुगेको छ । तर, त्यही प्रदेश सभाबाट निर्णय गरिएको प्रदेश राजधानीको कार्यान्वयनमा मुद्दा भने ओझेलमा छ । अघिल्लो प्रदेश सभाले राजधानी कैलालीको गोदावरीमा निर्माण गर्ने निर्णय पारित गरेको थियो । त्यति बेला कार्यान्वयन नभएर थाती रहेको यो मुद्दाका विषयमा अहिले अधिकांश सांसद मौन रहने गरेका छन् ।

सोमबार प्रदेश सभा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश सभामा प्रदेश प्रमुख र सभामुखले आफ्ना धारणा राखे पनि अन्य मौन रहे । प्रदेश प्रमुख नजिर मियाँले अरू प्रदेशमा स्थायी राजधानी बनिसक्दा सुदूरपश्चिममा यसबारे कुरासमेत नउठ्नु विडम्बना भएको बताए ।
स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य दिने क्रममा नेताहरूले राजधानीको विषयबारे केही नबोलेको भन्दै प्रदेश प्रमुख मियाँले असन्तुष्टि समेत जनाएका थिए ।
‘यहाँ राजधानीको कुरा कसैले उठाएनन्, यो विडम्बना हो’ उनले भने, ‘राजधानी बनाउने कहाँ हो ? यहाँ दुई तिहाइको सरकार छ, दुई तिहाइ मात्र होइन, शतप्रतिशतले नै राजधानीबारे चाँसो दिनुपर्ने हो ।’

दुई तिहाइको प्रदेश सरकार भए पनि राजधानीबारे चाँसो नखिएको उनको भनाइ थियो । छिटोभन्दा छिटो निर्णय गरेर राजधानी बनाउने काममा लाग्नसमेत उनले सरकारलाई सुझाव दिए ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेशको स्थायी राजधानी निर्माणको प्रक्रिया सुरु गर्न नसक्ने अवस्थामा नयाँ ढङ्गले जानुपर्ने धारणा राखे । उनले प्रदेशले आफ्नो छतसमेत बनाउन नसक्ने हैसियतमा बसिराख्ने हो भने प्रदेश संरचना माथि नै प्रश्न उठ्ने बताए ।
‘प्रदेशको राजधानी यो वर्ष पनि हामी अगाडि बढ्न सकेनौँ र टुङ्ग्याउन सकेनौँ भने नयाँ ढङ्गले सोच्न बाध्य हुनुपर्छ भन्ने कुरा यहाँहरूको बिचमा राख्न चाहन्छु’ प्रदेश सभाको स्थापना दिवसका अवसरमा आज प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा उनले भने, ‘हाम्रो छत पनि बनाउन नसक्ने हैसियतमा बसिराख्ने हो भने हाम्रो उपादेयतामा हामी आफैभित्रबाट प्रश्न खडा हुन्छ ।’
सरकारले राजधानी निर्माणको नेतृत्व लिए त्यसमा सहयोग गर्न सिङ्गो प्रदेश सभा एक ठाउँमा उभिने सभामुख भण्डारीको भनाइ थियो ।
प्रदेश सभाको पहिलो कार्यकालमै २०७५ असोज १२ गतेको बैठकमा दुई तिहाइको निर्णयबाट सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीको गोदावरी नगरपालिका – ४ तेघरी गोदावरीमा निर्माण गर्ने निर्णय भएको थियो । तर निर्णय भएको ६ वर्ष बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेर अलपत्र अवस्थामा छ ।
धनगढीमै प्रदेशका संरचना थपिरहेको सरकारले पछिल्लो समय यस विषयमा बोल्न समेत छाडेको छ ।



















