अत्तरिया – सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले ‘ढोग दियाँ’ शब्दको खिल्ली उडाउनु खेदपूर्ण रहेको जनाएको छ । आइतबार एक ध्यानाकर्षण पत्र जारी गर्दै प्रतिष्ठानले हाम्रो परम्परा, मौलिकता, सभ्यता र संस्कार सँग जोडिएको ओजपूर्ण शब्द ‘ढोग दियाँ’ लाई शिष्टताको खिल्ली उडाउने र अपहेलित हुने गरी कतिपय गीत संगीत र सामाजिक सञ्जालमा समेत प्रयोग गरिनु खेदपूर्ण रहेको जनाएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीद्वारा हस्ताक्षरित पत्रमा केही समय यता सुदूरपश्चिम प्रदेशको भाषा संस्कृति र संस्कारलाई अपहेलित हुने गरी ‘ढोग दियाँ’ शब्दको दुरुपयोग भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘सुदूरपश्चिम र कर्णालीको सेरोफेरोमा नजिकको मान्यजनलाई शिष्टाचार एवं आदररार्थी शब्दको रूपमा ‘ढोग दियाँु’ शब्द प्रयोग हुने गर्दछ । यो अत्यन्त शिष्टाचारको शब्द हो । सबैलाई ढोग दिइँदैन । पछिल्लो समयमा कुनै जाति समुदाय र भूगोललाई अपमानित हुने गरी ‘ढोग दियाँ’ शब्द विभिन्न सामाजिक सञ्चाल, स्टेज कार्यक्रम, टिकटक र गीत संगीतमा देखिनु गलत कार्य हो । यस्ता किसिमका अस्वाभाविक एवं अपमानित हुने क्रियाकलाप नगर्न नगराउन प्रतिष्ठान सम्बन्धित सबैमा अपिल गर्दछ ।’