अत्तरिया – कैलालीमा अवैध भन्सार छलीको सामान दिनहुँजसो प्रहरीले फेला पार्ने गरेको छ । जिल्लामा बढीजसो अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याइएको सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पार्ने गरेको हो । महिनैपिच्छे लाखौँको अवैध सामान बरामद गरिरहेको प्रहरीले तस्करीमा संलग्नहरुलाई भने पक्राउ गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क हेर्दा साउनयता मात्रै साढे तीन करोड बढीको भन्सार छलीको सामान बरामद गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर २५ गतेसम्म मात्रै ३ करोड ६२ लाख १९ हजार ९७१ मूल्यको भन्सार छलीको सामान बरामद गरिएको हो । यस अवधिमा भन्सार छलीको सामानसहित १३ जना पक्राउ परेका छन् भने २९ ओटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।


प्रहरीको तथ्याङ्क अनुसार साउन महिनामा ७० लाख २४ हजार २४५ मूल्यको सामान बरामद हुँदा एक जना मात्रै पक्राउ परेका छन् भने ६ ओटा सवारी साधन समातिएका छन् । त्यसैगरी भदौमा ७२ लाख ३८ हजार ८९ मूल्यको सामान बरामद हुँदा ३ ओटा सवारी साधन र २ जना मात्रै पक्राउ परेका छन् ।
असोजमा ८७ लाख ३३ हजार २३४, कार्तिकमा ८७ लाख ७५ हजार ४३० र मंसिर २५ गते सम्ममा ६८ लाख ५० हजार ९७३ मूल्यको सामान बरामद भएको छ । जसमा क्रमशः ५ ओटा सवारी साधन र ३ जना, १२ ओटा सवारी साधन र ७ जना पक्राउ परेका छन् । मंसिरमा भने ३ ओटा सवारी साधन समातिएका छन् तर, संलग्न एक जना पनि पक्राउ परेका छैनन् ।

जिल्लाका भारतीय नाकाबाट भन्सार छलेर ल्याइने अधिकांश सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारेर बरामद गर्ने गरेको छ । सामान ओसारपसारमा प्रयोग गरिएका केही सवारी साधन चालकसहित समातिए पनि धेरैजसो सवारी साधन प्रहरीले बेवारिसे अवस्थामै फेला पार्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहरा सामान ओसारपसारमा संलग्नहरु सामान छोडेर भागिदने गरेका कारण बेवारिसे अवस्थामा सामान पाइने गरेको बताउँछन् । ‘कस्तो हुन्छ भनेपछि अब यो १०३ किलोमिटर खुल्ला सिमाना भएको हुनाले र ठाउँठाउँमा हाम्रो अस्थायी प्रहरी पोष्टहरु, इलाका प्रहरी कार्यालय एउटा निश्चित दुरीमा भको हुनाले हाम्लाई चैँ एकदमै यो गस्तीको क्रममा साह्रै नभ्याउने सम्मको छ,’ उनी भन्छन्, ‘त्यो हुनाले गस्ती गर्दाखेरी हाम्रो टोलीले कहिलेकाहीँ अपरझटमा जाँच गर्दाखेरी वहाँहरुले कहिले घाँसको भारीको बिचमा ल्याउने, कहिले दाउराकोमा, कहिले कुनै सामानमा ल्याउने गर्नुहुन्छ । हामी चैँ टाढाबाट देखियो भने वहाँहरुले थाहा पाइहाल्नुहुन्छ, हामी यसैको लागि फस्ने भयौँ भनेर वहाँहरुले चैँ त्यल्लाई फालेर गइदिनुहुन्छ, बढीजसो सामानमा त्यस्तै हुन्छ र फाट्टफुट्ट हाम्ले चैँ मान्छेसमेत समातिरहेको अवस्था पनि हो ।’
प्रवक्ता बोहरा प्रहरीलाई देखेर संलग्नहरु भाग्ने गर्दा नै सवारी साधन पनि बेवारिसे अवस्थामा फेला पर्ने गरेको बताउँछन् । यद्यपी उनी सवारी साधनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा भन्सार छलीको सामानहरु पाइने गरेको कुरामा जोड दिन्छन् । उनी भन्छन्, ‘हामीलाई देखेर सवारी साधन छोडेर भाग्ने गरेको अवस्था पनि छ र कहिलेकाहीँ चैँ हामीले सवारी साधन नै नियन्त्रणमा लिएर कुनै पनि सामान छ भने बिल माग्छौँ, बिल तत्काल वहाँहरुले दिन सक्नुहुन्न, वहाँहरुको त्यो लिगल टाइपको हुँदैहुँदैन, त्यही भएर १÷२ घण्टा रोक्यो भने नक्कली बिल बनाएर ल्याउनुहुन्छ त्यो त प्रष्टै थाहा हुन्छ, २÷४ लाखको सामान लिएर मान्छे जाँदैछ भने उसँग पक्कै बिल भको हुनुपर्छ ।’

प्रवक्ता बोहरा व्यावसायिक प्रयोजनका लागि ल्याइएको सामानको अनिवार्य बिल बोक्न पनि आग्रह गर्छन् । बिल नभएका सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाइने गरिएको उनी बताउँछन् । उनले बढीजसो पक्राउ पर्नेमा एउटा निश्चित रकमको लोभमा सामान बोक्नेहरु रहने गरेको बताए । ‘समातिने भनेका प्रायजसो केरियरहरु भरियाहरु हुन्छन्,’ उनले भने, ‘कन्ट्याक्टर पारी हुन्छ जोल्ले मगाएको हो वारी हुन्छ, बिचमा चैँ एउटा निश्चित रकमको लोभमा यताका केरियरहरु बन्दिने हुन्छन् ।’
सामान लेनदेन गर्ने व्यक्तिहरुका बिचमा एउटा रकमको लोभमा तेस्रो व्यक्ति फस्ने गरेको उनी बताउँछन् । तर, सामान बोक्ने तेस्रो भनिएको व्यक्ति पक्राउ पर्दा मुख्य व्यक्तिहरुसम्म पुग्न सकिने उनको भनाइ छ । यद्यपी अहिलेसम्म त्यसरी मुख्य भनिएको व्यक्ति पक्राउ परेको घटना आफूलाई सम्झना नभएको उनी बताउँछन् । ‘त्यस्तो कुनै कुनैमा हुन्छ, याँ त अब दिनहुँ समातिइरहेका हुन्छन्, त्यही भएर हामीलाई याद हुने कुरो भएन तर कहिलेकाहीँ त्यस्तो पनि भेटाइरहेका हुन्छौँ,’ उनी भन्छन् ।